दाङ, १४ भदौ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन दाङको चौथो अधिवेशन शुरू भएको छ। अधिवेशनको उद्घाटन कार्यक्रम संगठनका जिल्ला अध्यक्ष दिपक बुढाथोकीको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष भीम ज्वाला राईको प्रमुख आतिथ्यतामा भएको हाे ।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष राईले हाल देशभर करिब ४९ जना चालक जेलमा रहेका जानकारी दिनुभयो। उहाँका अनुसार चालकहरूले धरौटी बुझाउन नसक्दा लामो समयसम्म जेलमा बस्नुपरेको हो। यस क्रममा उहाँले तुलसीपुरस्थित त्रिसिद्धेश्वरी राप्ती यातायात प्रालिले समस्यामा परेका चालकलाई सहज रूपमा व्यवस्थापन गर्दै आएको प्रशंसा गर्नुभयो।
कार्यक्रममा नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका सल्लाहकार सुरेश हमालले यातायात मजदुरका लागि पेन्सनको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो।
संगठनका सचिव खिमबहादुर डाँगीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो। नेपालमा करिब १२ लाख यातायात मजदुर रहेको अनुमान छ। अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ।














