तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–३, ८ र ९ को कार्य क्षेत्र रहेको त्रीवेणी वृद्धवृद्धा समाजले अभिभावकविहीन बनेका दुई बालकलाई नगद सहयोग गरेको छ ।
समाजका अध्यक्ष राम प्रसाद बस्यालको नेतृत्वमा गएको टोलीले तुलसिपुर उपमहानगरपालिका वडा नंड्ड ३ का वडा अध्यक्ष बिर बहादुर बिक (बिजय) को रोहबरमा पीडित परिवारको घरमै पुगेर १० हजार नगद रकम हस्तान्तरण गरिएको हो ।
वृद्धवृद्धा बुवा आमाले गत बर्ष तिहारमा भैलो खेलेर संकलन रकमबाट सहयोग गरेका हुन । वृद्धवृद्धा बुवा आमा लगायत विपन्नलाई सहयोग गर्दै आएको यस संस्थाले फेरि पनि तुलसीपुर–३ बल्लेमा गएर सहयोग गरेको छ ।
केही वर्षअघि बुवा कमल पुनको निधन भएपछि आमाको सहारामा रहेका दुई बालकले हालै आमासमेत गुमाएका हुन् । विषालु च्याउ खाँदा आमा दीपा पुनको दुःखद निधन भएपछि उनीहरू पूर्णरूपमा अभिभावकविहीन बनेका छन् । दुवै अभिभावकको निधनपछि बालकहरूको शिक्षा, पालनपोषण तथा दैनिक जीवनयापनमा समस्या देखिएको छ ।
उनीहरूको अवस्थाबारे जानकारी पाएपछि देश तथा विदेशमा रहेका नेपालीहरूबाट समेत सहयोग जुटिरहेको छ । विभिन्न व्यक्ति, संघसंस्था तथा सामाजिक अभियन्ताहरूले आफ्नो क्षमताअनुसार सहयोग गर्दै आएका छन् । तर बालकहरूको भविष्य सुरक्षित गर्न निरन्तर सहयोग आवश्यक रहेकाले सहयोगी मन भएका व्यक्ति, संघसंस्था तथा देश–विदेशमा रहेका नेपालीहरूलाई सक्दो सहयोग गरिदिन अपिल गरिएको छ ।
सानो सहयोगले पनि अभिभावकविहीन बनेका बालकहरूको शिक्षा, पालनपोषण र भविष्य निर्माणमा ठूलो योगदान पुग्ने भएकाले सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरिएको छ ।













