सल्यान।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, स्थानीय वन महासंघ कपुरकोटको आयोजनामा तथा कपुरकोट गाउँपालिकाको व्यवस्थापकीय सहयोगमा सोमबार वनसँग सम्बन्धित विषयमा समन्वय तथा परामर्श बैठक सम्पन्न भएको छ ।
कपुरकोट वन महासंघका अध्यक्ष खड्ग केसीको अध्यक्षता तथा कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
बैठकले नौवटा प्रस्ताव पारित गरेको छ । महासंघको सदस्यता नवीकरण, लेखापरीक्षण र कर व्यवस्थापन, स्थानीय तहमा सूचीकरण, दिगो वन व्यवस्थापन, म्याद सकिएका वन कार्ययोजना नवीकरण, अनुगमन, समन्वय तथा सम्पर्कमुखी कार्यक्रम, मिचाहा प्रजाति न्यूनीकरण अभियान र सबलीकरणसम्बन्धी कार्यक्रम सञ्चालनका प्रस्तावहरू रहेका छन् ।
कार्यक्रममा उपाध्यक्ष प्रकाश भण्डारी, प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेल, वन महासंघ केन्द्रीय सचिवालय सदस्य घनश्याम शर्मा, कपुरकोट सब डिभिजन वन अधिकृत मुकुन्द पौडेल, सल्यान वन महासंघकी महासचिव अरुणा खत्री, ग्रीन फाउन्डेसन दाङका प्रतिनिधि भीम खत्री, सल्यान वन महासंघका न्यायिक समिति संयोजक टिकाराम केसी, पत्रकार जितप्रसाद आचार्य लगायतको उपस्थिती रहेको थियो ।














