२०८२ फाल्गुन २६ गते मङ्गलवार

हाम्रो पहुँच सहकारीको निर्वाचन कार्यतालिका सार्वजनिक


तुलसीपुर । तुलसीपुर– ७ झुमरेमा रहेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । आज शुक्रबार बसेको निर्वाचन समितिको बैठकले सहकारीको विधानअनुसार नयाँ नेतृत्व चयन गर्न निर्वाचन गराउने कार्यतालिका सार्वजनिक गरेको हो ।

निर्वाचन समितिका संयोजक शान्तराज गौतमको अध्यक्षतामा बसेको बैठकले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

कार्यतालिकाअनुसार असोज १९ गते बिहान ११ बजे मतदाता नामावली प्रकाशन गरिनेछ । सोहि दिन दिउँसो १ बजेदेखि २० गते दिउँसो २ बजेसम्म मतदाता नामावलीमा दाबीविरोध दर्ता गर्ने र सच्चाउने समय तोकिएको छ । असोज २० गते बेलुकी ५ बजेसम्म दाबीविरोध छानबिन सम्पन्न गरिने र २१ गते बिहान ११ बजे अन्तिम नामावली प्रकाशन गरिने संयोजक गौतमले बताउनुभयो ।

त्यस्तै असोज २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको नाम दर्ता हुने छ । सोही दिन साँझ ४ बजेसम्म उम्मेदवारहरुको नामावली छानबिन गरिने र पौने ५ बजेसम्म प्रारम्भिक नामावली सार्वजनिक गरिनेछ ।

असोज २८ गते बिहान १० बजेदेखि सवा १२ बजेसम्म उम्मेदवारहरुको सूचीमा दाबीविरोध दर्ता गर्न सकिनेछ भने दिउँसो साढे १२ बजेदेखि २ बजेसम्म छानबिन गरिनेछ । सोही दिन साँझ ४ बजेसम्म उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्ने व्यवस्था गरिएको छ ।

असोज २९ गते साँझ पौने ५ बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ । त्यसपश्चात् सोही दिनदेखि असोज ३० गते राति १२ बजेसम्म चुनाव प्रचार–प्रसार गर्न पाउने निर्वाचन समितिले जनाएको छ ।

कार्यतालिका अनुसार असोज ३१ गते निर्वाचन हुनेछ । मतदान बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म चल्नेछ । मतदान सकिएलगत्तै सोही दिन मतगणना गर्ने समितिको तयारी रहेको छ ।

निर्वाचनमार्फत चार वर्षे कार्यकालका लागि अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्षसहित संचालक समिति सदस्यहरु चयन गरिनेछन् । निर्वाचन समितिले निर्वाचनलाई निष्पक्ष, पारदर्शी, स्वच्छ र भव्य ढंगले सम्पन्न गर्ने तयारी भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस