२०८२ कार्तिक ३० गते आइतवार

‘जेन जी’ पुस्ताको प्रदर्शन शुरु

दाङ। जेन जी अर्थात् सन् १९९७ देखि २०१२ भित्र जन्मिएका २८ वर्षमुनिका युवा पुस्ताले आज दाङसहित देशभर प्रदर्शन शुरु गरेका छन् । दाङमा प्रमुख बजार घोराहीमा प्रदर्शन शुरु भएको छ भने देशका प्रमुख शहरहरुमा प्रर्दशन शुरु भएको छ ।

जिल्ला प्रशासन कार्यालय उनीहरुलाई निषेधित क्षेत्रमा प्रवेश नगर्ने गरी प्रदर्शन गर्न अनुमति दिएको जनाएको छ ।

विभिन्न व्यक्ति र समूहहरुले समेत ऐक्यबद्धता जनाएका कारण प्रदर्शनमा ‘घुसपैठ’ हुनसक्ने भन्दै प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ । गएको चैत १५ मा हिंसात्मक प्रदर्शन गरेर केही दिनअघि थुनामुक्त भएका दुर्गा प्रसाईंले पनि प्रदर्शनमा ऐक्यबद्धता जनाउनुभएको छ ।

प्रशासनले घुसपैठ हुन सक्ने आङ्कलन गर्दै आयोजकहरुलाई सजक हुन भनेको छ । प्रहरीले कानूनविपरीतका क्रियाकलाप हुन नदिने भन्दै त्यहीअनुसार जनशक्ति परिचालन गर्ने जनाएको छ । सरकारले सामाजिक सञ्जाल निष्क्रिय बनाउने निर्णय गरेपछि ‘जेनजी’ पुस्ताले प्रदर्शन गर्न लागेका हुन् । उनीहरुले भ्रष्टाचार अन्त्यसहितका विषयलाई मुख्य नारा बनाएका छन् ।

युवा विद्यार्थीहरूले सामाजिक सञ्जालमा ‘नेपो बेवी’ ट्रेन्ड चलाएका छन् । कसैका बुवा ठूलो पदमा पुगेको आडमा छोराछोरीले मोजमस्ती गरेको भन्दै उनीहरूले त्यस्ता छोराछोरीको विरोध गरेका हुन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस