दाङ। तुलसीपुर उपमहानगरपालिकाले आफ्नो कार्यक्षेत्रभित्र रहेका सहकारी संस्थाका शेयर सदस्यहरुलाई सहकारीसम्बन्धी नियम पालना गर्दै आवश्यक विवरण अद्यावधिक गर्न आग्रह गरेको छ ।
नगर कार्यपालिकाको निर्णयअनुसार सहकारी तथा सामाजिक विकास शाखाले सूचना जारी गर्दै सदस्यहरुलाई तोकिएको समयभित्र विवरण अद्यावधिक गरी संस्थाको गतिविधिप्रति सचेत रहन अनुरोध गरेको हो। उपमहानगरपालिकाले सदस्यहरुलाई सञ्चालन उद्देश्यविपरीत भएका सहकारीमा पासबुक अद्यावधिक गर्न, घरदैलोमा सदस्यता नलिन, नियमित बचतको आउने सहकारी प्रतिनिधि आधिकारिक भए/नभएको यकिन गरेर मात्रै कारोबार गर्न, बचत तथा ऋणको अवस्थाबारे नियमित जानकारी लिन र संस्थाको साधारणसभामा सहभागी हुन आग्रहसमेत गरेको छ ।
त्यस्तै, सहकारीसम्बन्धी सूचना तथा समाचार नियमितरुपमा अध्ययन गर्न, शंकास्पद गतिविधि देखिए तत्काल सम्बन्धित निकायमा जानकारी गराउन तथा समस्या समाधान नभए कानुनी उपचारको प्रक्रिया अघि बढाउन पनि अनुरोध उपमहानगरपालिकाले गरेको छ । सहकारी क्षेत्रलाई पारदर्शी, सुरक्षित र उत्तरदायी बनाउन सबै शेयर सदस्यको सक्रिय भूमिका आवश्यक रहेको भन्दै यसतर्फ सचेत हुन पालिकाले अनुरोध गरेको छ ।















