दाङ । जेनजी अर्थात युवापुस्ताको आन्दोलनका कारण बन्द रहेका सरकारी कार्यालय आजदेखि खुल्न थालेका छन् । असहज परिस्थितिका कारण रोकिएको सेवा आजदेखि सुचारु भएको हो । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ ले पनि आजदेखि सेवा दिन शुरु गरेको छ ।
वडा अध्यक्ष रामबहादुर जिसीले खर्चवामा रहेको वडा कार्यालयबाट आजदेखि सेवाप्रवाह शुरु भएको जानकारी दिनुभयो । उहाँले आन्दोलनका क्रममा वडा कार्यालय तोडफोड तथा आगजनी हुनबाट जोगाएको भन्दै स्थानीयलाई धन्यवाद समेत दिनुभएको छ ।
वडा कार्यालयको भवन यसैवर्ष निर्माण सम्पन्न भएको हो । वडाअध्यक्ष जिसीले आन्दोलनको क्रममा घाईते भएकाको शिघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
साथै उहाँले आन्दोलनको क्रममा निधन भएकाप्रति श्रद्धान्जली प्रकट गर्दै परिवारमा समवेदना समेत व्यक्त गर्नुभएको छ । उहाँले युवापुस्ताको मागलाई सरकारले सम्बोधन गर्नुपर्ने बताउनुभयो ।
यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ ले पनि आजबाट सेवा दिन थालेको वडा अध्यक्ष प्रेमनाथ योगीले जानकारी दिनुभयो । कतिपय वडा कार्यालयमा भने आगजनीबाट पूर्णरुपमा क्षति पुगेकाले सेवा दिन समय लाग्ने देखिएको छ ।














