दाङ । जेनजी आन्दोलनको क्रममा तुलसीपुर कारागारबाट भागेका २५३ जनामध्ये १०५ जना कैदीबन्दी पक्राउ परेका छन् । सुरक्षाकर्मीको सहयोगमा ती कैदी बन्दीलाई पक्राउ गरेको तुलसीपुर कारागार प्रशासन प्रमुख गिरबहादुर सेजुवालले जानकारी दिनुभयो ।
यस्तै १२ जना कैदीबन्दी सम्पर्कमा आएको कारागार प्रशासनले जनाएको छ । ति १२ जना कैदीबन्दी जिल्ला बाहिरका विभिन्न कारागारमा रहेका छन् । कारागार कार्यालयका जेलर सेजुवालका अनुसार सम्पर्कमा रहेका १२ जनामध्ये कैलाली कारागारमा ६ जना, कपिलवस्तु कारागारमा ३, बर्दियामा २ र सुर्खेतमा १ जना कैदी रहेका छन् । उनिहरुलाई अवस्था सामान्य बनेपछि मात्रै तुलसीपुरमा ल्याउने प्रशासन प्रमुख सेजुवालले जानकारी दिनुभयो ।
कारागारबाट भागेका कैदीबन्दीहरुलाई फर्किनको लागि जिल्ला प्रशासन कार्यालय दाङले सूचना जारी गरेपछि कैदीबन्दीहरु फर्किने क्रम जारी रहेको उहाँले बताउनुभयो । हाल ६ जना जति आफै फर्किएको उहाँको भनाई छ । एक दुई जना आफ्नो सम्पर्कमा रहेको पनि उहाँले जानकारी दिनुभयो ।
भागेका २५३ जना मध्ये अझै १४८ जना फरार रहेका छन् । फरारको खोजीकार्य जारी रहेको कारागार प्रशासनले जनाएको छ । भदौ २४ गते १२४ जना र २५ गते १२९ जना गरी कुल २५३ कैदीबन्दीले जेनजी आन्दोलनको क्रममा कारागारको सुरक्षा घेरा तोडेर भागेका थिए ।
तुलसीपुर कारागारमा ६ जना आश्रित बालबालिका सहित हाल ४६९ कैदीबन्दी रहेका थिए । जसमा ४ सयजना पुरुष र ६३ जना महिला रहेका छन् ।










