२०८२ कार्तिक ३० गते आइतवार

विशेष परिस्थितिमा बाहेक ६ घण्टाभित्र अवरुद्ध सडक खुल्ने


दाङ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले अवरुद्ध बनेका सडकहरु विशेष परिस्थितिमा बाहेक ६ घण्टाभित्र खुल्ने गरी काम अगाडि बढाएको दाबी गर्नुभएको छ ।

आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको अध्यक्षतामा बसेको बैठकमा उहाँले चाडपर्वमा यात्रा सहज बनाउनेगरी सडक विभागले काम गरिरहेको बताउनुभयो । अहिले मौसमका कारण सडक अवरुद्ध भएको भन्दै उहाँले सडक खुलाउन मन्त्रालय र सडक विभागको टोली सक्रिय रहेको बताउनुभयो ।

उहाँले पृथ्वी राजमार्ग र मुग्लिङ खण्डको तुइन खोलामा पहिरो झर्न रोकिएको चार घण्टामा सडक खुल्ने दाबी गर्नुभयो । उहाँले सडक विभागले आधा घण्टादेखि एक घण्टाभित्र घटनास्थलमा पुग्ने गरी मेसिन राखेको पनि जानकारी दिनुभयो ।

बैठकमा मन्त्री घिसिङले चाडपर्वमा यातायात सहज बनाउन कसरी फास्ट ट्रयाकमा काम गर्ने भनेर आन्तरिक छलफलपछि समस्या समाधान गरिने बताउनुभयो । बैठकमा सहभागी यातायात व्यवसायीहरूले रात्रिबस दिउँसो चलाउन माग गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँर, महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले पहिरो बाढी पहिरोका कारण अहिलेको परिस्थिति नाजुक रहेको बताउँदै रातको समयमा चल्ने बसलाई दिउँसो चलाउनु उपयुक्त हुने बताउनुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस