२०८३ बैशाख ६ गते आइतवार

राप्ती मालबाहक यातायात सेवा प्रालिले दियो तुलसीपुरलाई भौतिक सामग्री

दाङ। राप्ती मालबाहक यातायात सेवा प्रालि तुलसीपुरले तुलसीपुर उपमहानगरपालिकालाई भौतिक सामग्री सहयोग हस्तान्तरण गरेको छ ।

गत भदौ २४ गते जेन जि प्रदर्शनका क्रममा उपमहानगरपालिकामा आगजनी हुँदा दुई वटा भवन पूर्ण रूपमा क्षति भएका थिए । सो क्रममा भवनसँगै कार्यालयमा रहेका सामग्री जलेर नष्ट भएपछि सेवा प्रवाहमा कठिनाइ भएको थियो ।

त्यही कठिनाइलाई मध्यनजर गर्दै संस्थाले आज उपमहानगरपालिकालाई विभिन्न सामग्री हस्तान्तरण गरेको हो । अफिस टेबल १ थान, दराज १ थान, अफिस कुर्सी १ थान, प्लास्टिक कुर्सी १० थान र फायर फाइटर २ थान उपलब्ध गराइएको प्राली का अध्यक्ष भुवन भुसालले जानकारी दिनुभयो ।

सामाग्री हस्तान्तरण गर्दै उहाँले जेन जि आन्दोलनका क्रममा ज्यान गुमाएका प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो । साथै आगजनी र लुटपाटमा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाहीको माग पनि गर्नुभयो ।

सहयोग सामग्री बुझ्दै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले सहयोगप्रति आभार व्यक्त गर्दै आगो लाग्दा कार्यालयका संरचना मात्र नभई काम गर्ने वातावरण नै नष्ट भएको थियो र यस्तो कठिन घडीमा राप्ती मालबाहक जस्ता संस्थाले देखाएको सहयोगले सेवा प्रवाहलाई सहज बनाउन ठूलो टेवा पुर्‍याएको बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस