२०८२ मङ्सिर २२ गते सोमवार

श्रीगणेश सामुदायिक बन तथा राप्ती शान्ति उद्यानले गर्‍यो ३१ औँ साधारणसभा तथा अधिवेशन

दाङ, २५ असोज । तुलसीपुर–७ मा रहेको श्रीगणेश सामुदायिक बन उपभोक्ता समुह तथा राप्ती शान्ति उद्यानको ३१ औँ वार्षिक साधारण सभा एवं अधिवेशन शनिबार गरिएको छ । बन समुहका अध्यक्ष बामदेव भण्डारीको अध्यक्षता तथा तुलसीपुर–७ का अध्यक्ष राम बहादुर जिसीको प्रमुख आतिथ्यतामा साधारण सभा तथा अधिवेशन उद्घाटन कार्यक्रम गरिएको हो ।

त्यस अवसरमा वडा अध्यक्ष जिसीले बन समुहका सबैको सहयोगले राप्ती शान्ति उद्यानको पर्यटकिय गन्तव्य बन्दै गएको बताउनुभयो । उहाँले बनका माध्यमबाट पनि रोजगारी सिर्जना गर्न सकिने उदाहरण श्रीगणेश सामुदायिक बनले प्रस्तुत गरेको बताउनुभयो । उहाँले वडा सरकारले पार्क तथा बनको विकासका लागि आवश्यक समन्वय र सहयोग गर्न सकिने बताउनुभयो ।


बन समुहका उपाध्यक्ष बिजय सुवेदीको स्वागत मन्तव्यबाट शुरु भएको उद्घाटन समारोहमा स्थानीय बन महासंघ तुलसीपुर नगर अध्यक्ष खेमलाल महतारा, सब डिभिजन बन कार्यालय तुलसीपुरका बन प्राविधिक मान बहादुर खड्का, गादिबरा सामुदायिक बन समुहका अध्यक्ष ठाकुर प्रसाद बन्जाडे, नेपाली कांग्रेस तुलसीपुर–७ का सभापति ओमबहादुर ओली, नेकपा एमाले तुलसीपुर–७ का अध्यक्ष खेमराज विश्वकर्मा, राष्ट्रिय जनमोर्चाका खिमानन्द खनाल, लगायतले मन्तव्य राख्नुभएको हो ।

बन समुहका सचिव माया रिजालले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको हो भने कोषाध्यक्ष दण्डबहादुर मल्लले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।

त्यस अवसरमा उद्यानका अध्यक्ष डिल्लीराज भण्डारीले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो भने कोषाध्यक्ष डुण्डमान पराजुलीले उद्यानको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । कार्यक्रमको सहजीकरण कोषाध्यक्ष दण्ड बहादुर मल्लले गर्नुभएको हो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । बन समुहले गत वर्षको एसईइमा उत्कृष्ट जिपिए ल्याउने संगिता पोखरेललाई सम्मान गरेको छ । बन समुहका उपभोक्ताका छोराछोरीमध्ये १ जना उत्कृष्टलाई सम्मान गरिएको हो ।

यसैबिच पार्कमा पृथ्वीनारायण शाहको शालिक अनावरण गरिएको छ भने चिल्डेन पार्कको उद्घाटन गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का अध्यक्ष राम बहादुर जिसीले शालिकको अनावरण गर्नुभएको हो । शालिकको लागत करिब १ लाख ४१ हजार रुपैँया रहेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस