तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–६ मा रहेको माध्यमिक विद्यालय तुलसीपुर सेन्टर स्कुलमा निर्माण गरिएको सरस्वतीको मूर्ति हस्तान्तरण गरिएको छ ।
तुलसीपुर उपमहानगरपालिका–८ दोघरेका ५३ वर्षीय टिकाराम कडेलले निर्माण गर्नुभएको उक्त मूर्ति आज एक कार्यक्रमको आयोजना गरी विद्यालयलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो ।
विद्यालयको प्राङगनमा मूर्ति निर्माण गरिएको छ । कडेलले आफ्ना स्वर्गीय हजुरआमा तुलसीदेवी कँडेल, हजुरबुवा हरिलाल कँडेल, बुवा खडानन्द कडेल, आमा बालिका कडेल तथा ठूलो बुवा–ठूली आमाको सम्झनामा उक्त मूर्ति निर्माण गरेको बताउनुभयो । करिब पाँच लाख रुपैयाँ लागतमा दुई वर्ष लगाएर मूर्ति निर्माण गरिएको उहाँको भनाइ छ । समाजप्रति योगदान दिने उद्देश्यले विद्यालयमै मूर्ति निर्माण गरेको उहाँले बताउनुभयो ।

टिकाराम कडेलको अध्यक्षता तथा विद्यालयका संस्थापक सदस्य नारायणप्रसाद रजौरेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भागवत पौडेलले सकारात्मक कार्यका लागि कडेलप्रति धन्यवाद व्यक्त गर्नुभयो । व्यक्तिगत लगानीमा विद्यालयको गरिमा बढाउने कार्य सराहनीय रहेको उहाँको भनाई छ । विद्यालयमा मूर्तिको अभाव पूरा गरेकोमा कडेलप्रति आभार प्रकट गर्नुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेश कुमार रावत, समाजसेवी विनोद कुमार शर्मा लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण विद्यालयका सहायक प्रधानाध्यापक भोलाप्रसाद पौडेलले गर्नुभएको हो ।















