दाङ । दाङका विभिन्न स्थानमा रहेका सुकुम्बासी बस्तीहरू हटाउने सरकारी निर्णयप्रति क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पार्टीको जिल्ला समिति दाङले आज बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै विकल्पबिना सुकुम्बासीहरूलाई हटाउन खोज्नु कानुनी राज्यको उपहास भएको बताएको हो ।जिल्ला सेक्रेटरी ’दीप’ द्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा दशकौँदेखि बसोबास गर्दै आएका नागरिकलाई सुरक्षाकर्मी प्रयोग गरेर घरटहरा भत्काउने कार्य भइरहेको भन्दै त्यसको घोर भत्र्सना गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय दाङले २०८३ वैशाख १५ गते विभिन्न बस्ती उठाउने सम्बन्धमा गरेको निर्णय वर्तमान संविधानले ग्यारेन्टी गरेको नागरिकको बसोबास सम्बन्धी मौलिक हकको ठाडो उल्लंघन भएको पार्टीको ठहर छ ।
पार्टीले वास्तविक सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको पहिचान गरी उनीहरूको गाँस, बास, कपास, शिक्षा र रोजगारीको उचित व्यवस्थापन गरेर मात्र सार्वजनिक जमिन खाली गराउन माग गरेको छ ।
मागको बेवास्ता गर्दै सुकुम्बासी बस्तीमा जबर्जस्ती डोजर चलाइएमा त्यसको कडा रूपमा भौतिक प्रतिरोध गरिने चेतावनी समेत दिएको छ ।















