दाङ । दाङमा एक महिनाको अवधिमा तीनसय बढीले राहदानी (पासपोर्ट) बनाएका छन् । वैदेशिक रोजगारीमा जानका लागि एक महिनाको अवधिमा ३६२ जनाले पासपोर्ट बनाएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।
कार्यालयका अनुसार जिल्ला प्रशासन कार्यालय घोराहीबाट २०५, तुलसीपुरमा ३५ र लमहीबाट १२२ गरी ३६२ जनाले पासपोर्ट बनाएका हुन् ।
जिल्ला प्रशासन कार्यालयले एक महिनाको अवधिमा ७ हजार ५ सय ६७ वटा सेवा प्रदान गरेको छ । नागरिकता, पासपोर्ट, राष्ट्रिय परिचयपत्र कार्डजस्ता अत्यावश्यक सेवा प्रदान गरेको प्रशासकिय अधिकृत विजय गौतमले जानकारी दिनुभयो ।
असोज महिनामा मात्रै ९५६ जनाले नेपाली नागरिकता प्राप्त गरेका छन् । इलाका प्रशासन कार्यालय तुलसीपुरबाट ३११, लमहीबाट २६२ र घोराहीबाट ३८३ गरी जम्मा ९५६ जनालाई नागरिकता वितरण गरेको प्रशासकिय अधिकृत गौतमले जानकारी दिनुभयो ।
सो अवधिमा दुई जनाले नेपाली नागरिकता त्यागेका छन् भने तीन जनाले गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेको कार्यालयले जनाएको छ ।
असोज महिनामा ३ हजार ५ सय ४४ जनाले जनाले राष्ट्रिय परिचयपत्रका लागि नाम दर्ता गरेका छन् भने ३६८ जनालाई कार्ड वितरण गरिएको कार्यालयले जनाएको छ ।










