दाङ । दाङको तुलसीपुरस्थित गुम्ह्राचोक नजिकै दुई मोटरसाइकल आपसमा ठोक्किँदा घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१४ ड्वाँङपुरका ३३ वर्षीय कमलेश चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसपीपुरका प्रमुख होमबहादुर पराजुलीले बताउनुभयो । दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको बाँकेको नेपालगञ्जस्थित न्युरो हस्पिटलमा उपचारका क्रममा दिउँसो पौने ४ बजे मृत्यु भएको हो ।
दुर्घटनामा तुलसीपुर–६ का ३० वर्षीय बसन्त बस्नेत र उनका २५ वर्षीय भाइ विवेक बस्नेत घाइते भएका छन् । सहोदर दाजुभाइ दुवै जना शिक्षक रहेको प्रहरीले बताएको छ ।
घाइतेमध्ये मोटरसाइकल चालक दाजु बसन्तको तुलसीपुरस्थित सिटी हस्पिटलमा घाँटी नजिकैको हड्डीको शल्यक्रिया गरिएको छ भने पछाडि सवार भाइ विवेकको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार शुक्रबार बिहान साढे १० बजेतिर दाजुभाइ सवार लुप्र ०२–००१ प ११४७ नम्बरको मोटरसाइकल उत्तरबाट दक्षिण गुम्ह्राचोकतर्फ जाँदै थियो। भाइलाई मुनाल गेष्ट हाउस नजिकैको शिशु कक्षामा पुर्याउन जाने क्रममा गुम्ह्राचोकभन्दा केही उत्तरमा विपरीत दिशाबाट आउँदै गरेको मृतक चौधरी सवार रा ३ प ८८५५ नम्बरको मोटरसाइकलसँग आपसमा ठोक्किएको थियो।
यसअघि साउन २१ गते पनि सोही सेरोफेरोमा भएको सवारी दुर्घटनामा तुलसीपुर–११ कटाहाकी २१ वर्षीया कल्पना केसी डाँगीको मृत्यु भएको थियो ।






















