दाङ । चलचित्र निर्देशक ऋषिराज आचार्य एक कुशल लेखक तथा निर्देशक हुनुहुन्छ । त्यस बाहेक उहाँ सामाजिक कार्यमा पनि निकै सक्रिय हुनुहुन्छ । विशेषगरि सुर्तीजन्य पदार्थको नियमन तथा नियन्त्रण सम्बन्धि कार्यका लागि उहाँ सक्रिय देखिनु भएको छ ।

सार्वजनिक कार्यक्रममा जनचेतना फैलाउने खालका वक्तब्य दिने देखि आफ्नो कार्यालयमा सुर्तीजन्य पदार्थ निषेधित क्षेत्र बनाउने सम्मका कार्य गर्दै सुर्ती, चुरोट, गुट्का जस्ता पदार्थ स्वास्थ्यका लागी हानिकारक भएको, यसबाट क्यान्सर निम्तने र मृत्यु सम्म हुनसक्ने कुरामा सचेत गराउदै आउनुभएको छ ।
निर्देशक आचार्यको सक्रियतामा उहाँ केन्द्रीय चलचित्र जाँच समितिको सदस्यको रुपमा सुर्तीजन्य पदार्थको नियमन तथा नियन्त्रण सम्बन्धि महत्त्वपूर्ण भुमिका निभाउनुभएको छ । जस अन्तर्गत उहाँको सक्रियतामा १३ अगस्ट २०२४ मा संचार तथा सूचना प्रबिधि मन्त्रालय, केन्द्रीय चलचित्र जाँच समिति र स्वास्थ तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ शिक्षा सूचना तथा संचार केन्द्र बीच सुर्तीजन्य पदार्थको नियमन तथा नियन्त्रण सम्बन्धि महत्त्वपूर्ण छलफल भएको थियो ।
त्यस छलफलबाट सुर्तीजन्य पदार्थको नियमन तथा नियन्त्रण सम्बन्धि सन्देशमुलक भिडियो सन्देश उत्पादन गर्ने र सो भिडियो सन्देश चलचित्र भवनमा हरेक चलचित्र सुरु हुनु अघि र चलचित्रको बिचमा निशुल्क प्रसारण गर्नका लागी संचार तथा सूचना प्रबिधि मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।
अनुरोध पत्र राष्ट्र्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रबाट संचार तथा सूचना प्रविधि मन्त्रालयमा पठाएपछि केन्द्रीय चलचित्र जाँच समितिले चलचित्र विकास बोर्डलाई पत्राचार गरि उक्त सन्देसमुलक भिडियो हालसम्म प्रत्येक चलचित्र भवनमा निशुल्क रुपमा प्रसारण गरिरहेको छ ।
शुल्क बापत लाखौं रकम तिरेर बजाउनु पर्ने भिडियो हालसम्म करिब देशका तीनसय स्कृनमा प्रसारण भैरहेको छ । जसबाट चलचित्र भवनमा चलचित्र हेर्ने लाखौं दर्शकले उक्त सन्देश हेर्ने र सुर्तीजन्य पदार्थको सेवन गर्न हुँदैन भन्ने कुरामा सचेत बनाउन उक्त भिडियो सन्देशले महत्त्वपूर्ण भुमिका खेलेको देखिएको छ ।
भिडियोको निर्देशन निर्देशक आचार्यले गर्नुभएको हो भने उक्त भिडियोमा निर्देशक आचार्य र नायिका केकि अधिकारी, रश्मि भट्ट, सुजाता तिमल्सिना र रमेश पाण्डेले अभिनय गर्नुभएको छ । भिडियो निकै लोकप्रिय बनेको छ ।
सो पहल सन् २०२३ देखि निर्देशक आचार्य र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रका स्वास्थ्य प्रबद्र्धन तथा सुर्तीजन्य पदार्थ नियमन शाखा प्रमुख डा. भक्त केसीको निरन्तर छलफल र प्रयास पश्चातको गृहकार्यबाट सम्भब भएको थियो ।
त्यसलाई मुर्तरुप दिन तत्कालीन फिल्म सेन्सर बोर्ड सदस्यहरु र केन्द्रका प्रमुख डा. केशवराज पन्डित साथै उपेन्द्र डुङ्गानाको निरन्तर मिहिनेत रहेको थियोे ।















