दाङ । नेपालका कप्तान रोहित पौडेलले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा २ हजार रन पूरा गर्नुभएको छ । योसँगै रोहित एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा २ हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बन्नु भएको छ ।
आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) सँगको खेलका क्रममा २ रन जोड्दै रोहितले यो उपलब्धि हासिल गर्नुभएको हो । रोहितले एकदिवसीयमा ७६ खेलमा २ शतक र ११ अर्धशतकसहित २ हजार रन पूरा गर्नुभएको छ ।
२३ वर्षीय रोहित एकदिवसीयमा नेपालका लागि सबैभन्दा धेरै रन बनाउने खेलाडी पनि हुनुहुन्छ । रोहितपछि दोस्रो स्थानमा रहेका आसिफ शेखले १ हजार ६ सय ७७ र तेस्रो स्थानमा रहेका कुशल भुर्तेलले १ हजार ४ सय ५४ रन बनाउनुभएको छ ।












