२०८२ माघ ८ गते बिहिवार

तुलसीपुरमा अधिकांश व्यवसाय दर्ता बिनै संचालन, तीन दिनमा दर्ता नभए शिल गर्ने चेतावनी

दाङ।
तुलसीपुरमा अधिकांश व्यवसाय दर्ता बिनै संचालनमा रहेको देखिएको छ । आइतबार गरिएको बजार अनुगमनको क्रममा अधिकांश व्यवसाय दर्ता बिनै संचालनमा रहेको देखिएको हो । दर्ता बिनै संचालनमा रहेका व्यवसायलाई दर्ता प्रक्रियामा ल्याउन र अखाद्य वस्तुको बिक्रि विरतरण रोक्नका लागि तुलसीपुर उपमहानगरपालिकाले बजार अनुगमनलाई तिब्रता दिएको छ ।

आइतबार तुलसीपुर–५ न्यूरोडमा संचालित व्यवसायको अनुगमन गरिएको छ । अनुगमनको क्रममा अधिकांश व्यवसाय तुलसीपुर उपमहानगरपालिका दर्ता बिनै संचालनमा रहेको देखिएको उपभोक्ता हित संरक्षण शाखा प्रमुख राजु श्रेष्ठले बताउनुभयो । अनुगमनको क्रममा जनता हेयर कटिङ जेन्स पार्लर, पवन हेयर कटिङ एण्ड जेन्स पार्लर, अन्सरा जेन्स पार्लर, मनिष हेयर कटिङ एण्ड जेन्स पार्लर दर्ता बिनै संचालनमा रहेको देखिएको छ ।

यस्तै संगम होटेल एण्ड लज, रूकुम चौरजहारी होटेल, सपना नास्ता पसल, हिमालय होटेल एण्ड लज, त्रिवेणी गेष्ट हावस, ंमिलन गेष्ट हावस एण्ड लज पनि दर्ता बिनै संचालन गरेको पाइएपछि अनुगमन टोलीले तीन दिनभित्र दर्ता प्रक्रियामा आउन निर्देशन दिएको छ । तीन दिनभित्र दर्ता प्रक्रियामा नआएमा पसल शिल गरिने उपभोक्ता हित संरक्षण शाखाका खेमकान्त पाण्डेले चेतावनी दिनुभएको छ ।

उपमहानगरपालिकाले अनुगमनसंगै दर्ता र नविकरणको पनि काम गरिरहेको छ । आइतबारमात्रै १३ वटा व्यवसायको दर्ता गरेको छ भने सरसफाई कर समेत असुल गरेको छ । आइतबारमात्रै दर्ता, नविकरण र सरसफाई कर गरेर ६९ हजार ८५० रुपैँया राजश्व संकलन गरिएको राजश्व शाखाका कुन्ता भण्डारीले बताउनुभयो । अनुगमनलाई सोमबार पनि निरन्तरता दिने उपभोक्ता हित संरक्षण शाखा प्रमुख श्रेष्ठले बताउनुभयो ।

प्रमुख श्रेष्ठको नेतृत्वमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का वडा सदस्य भिमबहादुर केसी, तुलसीपुर उपमहानगरपालिकाका सूचना अधिकारी यज्ञ बहादुर केसी, तुलसीपुर चेम्बर अफ कमर्शका उपाध्यक्ष सन्तोष खड्का, राजश्व शाखाका कुन्ता भण्डारी, नगर प्रहरी र पत्रकार लगायतको सहभागीतामा अनुगमन गरिएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस