दाङ । औद्योगिक ग्राममा आफै संरचना बनाएर बस्ने उद्योगी व्यवसायीबाट तुलसीपुर उपमहानगरपालिकाले पाँच वर्षसम्म कर नलिने भएको छ ।
तुलसीपुर उपमहानगरपालिका–१६ मा स्थापना गरिएको औद्योगिक ग्राममा उद्योग व्यवसाय संचालन गर्नका लागि उद्योगी व्यवसायी आफैले संरचना बनाएमा उपमहानगरपालिकालाई बुझाउनुपर्ने कर पाँच वर्षसम्म नलाग्ने भएको हो ।
११ औँ उद्योग दिवसको अवसरमा मंगलबार औद्योगिक ग्रामस्थलमै गरिएको कार्यक्रममा नगरप्रमुख टिकाराम खड्काले उद्योगी व्यवसायी आफैले संरचना बनाएर बसेमा उपमहानगरपालिकाले पाँच वर्षसम्म कर नलिने बताउनुभयो ।
उहाँले औद्योगिक ग्राममा उद्योगी व्यवसायीलाई बस्ने वातावरण बनाउनका लागि आवश्यक संरचनाका विकास गरिरहेको समेत बताउनुभएको छ । उहाँले विद्युतको पहुँच विस्तार भइसकेको र अन्य संरचना पनि विस्तारै बढाउँदै लैजाने बताउनुभयो ।
औद्योगिक ग्राममा उद्योगी व्यवसायीलाई आवश्यक पर्ने सुरक्षा व्यवस्थादेखि अन्य पूर्वाधार निर्माणको काम उपमहानगरपालिकाले गर्ने उहाँको भनाई छ । उहाँले चालु आर्थिक वर्षमा मात्रै करिब ५० लाख बराबरको काम गरिने बताउनुभयो । औद्योगिक ग्राममा सार्वजनिक शौचालय, खानेपानीदेखि फिल्ड सम्याउने लगायतका काम चालु आर्थिक वर्षमै गरिने उहाँले बताउनुभयो ।
नगरप्रमुख खड्काले उपमहानगरपालिकाले बनाएको संरचनामा पनि उद्योगी व्यवसायीले न्यूनतम कर बुझाए हुने बताउनुभयो । ‘औद्योगिक वातावरणको सुधार, दिगो अर्थतन्त्रको आधार’ विषयक अन्तरक्रिया कार्यक्रममा उद्योगी व्यवसायीले उपमहानगरपालिकाले आवश्यक सरंचना जतिसक्दो निर्माण गर्नुपर्ने बताएका छन् ।

कार्यक्रममा ग्रिल व्यवसायी ओम वली, मुद्रण व्यवसायी शालिकराम बस्नेत, क्षेत्र खड्का, राप्ती अंचल ढुवानी व्यवसायी समितिका सचिव चिरन्जीवी पौडेल, प्रकाश वली लगायतले औद्योगिक ग्राममा संरचना निर्माण भएमा आफुहरु उद्योग व्यवसाय संचालनका लागि तयार रहेको बताउनुभयो ।
व्यवसायीले बजारदेखि औद्योगिक ग्रामस्थलसम्म पुग्ने सडक भरपर्दो हुनुपर्ने बताएका छन् । यस्तै तुलसीपुर चेम्बर अफ कमर्शका उपाध्यक्ष सन्तोष खड्काले पालिकाले आवश्यक पूर्वाधार निर्माणमा चासो दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ का अध्यक्ष शिवानन्द डाँगीले औद्योगिक ग्रामस्थल जग्गा निर्माणमा स्थानीयको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै उद्योग स्थापना भएमा स्थानीयलाई रोजगारीका अवसर सिर्जना हुने बताउनुभयो ।
यस्तै तुलसीपुर उपमहानगरपालिका ७ का अध्यक्ष रामबहादुर जिसीले औद्योगिक ग्राममा उद्योग स्थापना गर्न पहिला पूर्वाधार चाहिने भएकाले पालिकाले यसतर्फ चासोका साथ काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।
यस्तै तुलसीपुर बैंकर्श क्लबका अध्यक्ष रञ्जन कोइरालाले व्यवसायी र बैंकबिच एक आपसमा समन्वय बिना अघि बढ्न नसकिने बताउनुभयो ।
बिजनेस इन्क्युबेसन सेन्टरका संरक्षक माधव वलीको अध्यक्षतामा कार्यक्रम भएको हो । उद्योग दिवसको अवसरमा नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको समन्वयमा तुलसीपुर उपमहानगरपालिकाले औद्योगिक ग्रामस्थलमै उद्योगी व्यवसायीसंग अन्तरक्रिया कार्यक्रम गरेको हो ।
तुलसीपुर उपमहानगरपालिका राजश्व शाखा प्रमुख पुष्पलता घर्तीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका अध्यक्ष लाल बहादुर केसीले गर्नुभएको हो ।
त्यस अवसरमा तुलसीपुरका प्रतिष्ठीत उद्योगी तथा तुलसीपुर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष डिल्लीबहादुर बस्नेतलाई सम्मान पत्रले सम्मान गरिएको छ । ११ औँ उद्योग स्थापना दिवसको अवसरमा स्मार्ट मल्टी कन्सेप्ट प्रालिले औद्योगिक ग्रामस्थलमा उद्योग स्थापना गर्नका लागि शिलान्यास समेत गरेको छ ।
कम्पनिका संचालक रविन्द्र बिक्रम केसीले कम्पनिले फोहोर व्यवस्थापनदेखि कृषिको क्षेत्रमा काम गर्ने बताउनुभयो । औद्योगिक ग्राम ग्वारखोलाको पूर्वतर्फ रहेको छ भने तुलसीपुर बजारदेखि करिब तीन किलोमिटर टाढाको दुरीमा छ ।















