२०८३ मङ्सिर ७ गते सोमवार

नेपालमा प्रविधिको विकाससँगै साइबर अपराधको स्वरूप फेरिँदै


दाङ । नेपालमा प्रविधिको विकाससँगै साइबर माध्यमबाट हुने आर्थिक अपराधका घटना बढ्दै गएका छन् । मोबाइल, कम्प्युटर र इन्टरनेटको प्रयोग गरी अनलाइन ठगी गर्ने, बैङ्क खाताबाट रकम चोरी गर्ने तथा सरकारी प्रणालीमा अनधिकृत पहुँच पुर्‍याउने जस्ता घटना सार्वजनिक भइरहेका छन् ।

नेपाल प्रहरीको अभिलेखअनुसार आर्थिक वर्ष २०७९/८० मा मात्रै बैङ्किङ कसुरका १२ हजार ९ सय ५० मुद्दा दर्ता भएका थिए । आर्थिक वर्ष २०८१/८२ मा आर्थिक तथा सङ्गठित अपराधले कुल अपराधको ३७ प्रतिशत हिस्सा ओगटेको छ ।

पछिल्लो समय नेपाल प्रिमियर लिगमा अनलाइन सट्टेबाजी गराउने, सार्वजनिक खरिद प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर ठेक्काका विवरण हेरफेर गर्ने तथा अनलाइन लगानीका नाममा सर्वसाधारणलाई ठगी गर्ने घटना सार्वजनिक भएका छन् ।

नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेले आर्थिक अपराध परम्परागत वित्तीय कारोबारमा मात्र सीमित नरही प्रविधिको प्रयोगबाट हुने नयाँ प्रकृतिका कसुरतर्फ विस्तार हुँदै गएको बताउनुभएको छ ।

उहाँका अनुसार अनलाइन ठगी, अवैध वित्तीय कारोबार र डिजिटल माध्यमबाट हुने अपराध नियन्त्रणका लागि प्रहरीका विशिष्ट युनिट परिचालन गरिएका छन् । प्रहरीले अपरिचित व्यक्तिलाई ओटिपी कोड नदिन, शङ्कास्पद लिंक नखोल्न र उच्च प्रतिफलको प्रलोभनमा अनलाइन लगानी नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस