२०८२ माघ ७ गते बुधवार

कम्प्युटर साइन्स टु–बेललाई ज्ञान ज्योति दोस्रो इन्टर कलेज फुटबल प्रतियोगिता–२०८२ को उपाधि



दाङ । ज्ञान ज्योति दोस्रो इन्टर कलेज फुटबल प्रतियोगिता–२०८२ को उपाधि कम्प्युटर साइन्स टु–बेलले जितेको छ ।

ज्ञान ज्योति फाउन्डेसन, तुलसीपुर दाङको आयोजनामा फाउन्डेसन खेल मैदान गोलौरामा सम्पन्न फाइनल खेलमा कम्प्युटर साइन्स टुबेलले ज्ञान ज्योति ८अन्डर–टेन८लाई ४–२ गोलले पराजित गर्दै उपाधि हात पारेको हो।

उपाधिसहित विजेता टिमले नगद २० हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्यो। फाइनलमा सम्मानजनक हार बेहोरेको अन्डर–टेन उपविजेतामा सीमित रहँदै नगद १० हजार, कप, मेडल तथा प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो ।

कडा प्रतिस्पर्धात्मक खेलमा कम्प्युटर साइन्सका गगन खड्काले २ गोल गरे भने किरण थापा र सुवास बुढाले १–१ गोल जोडे । उता अन्डर–टेनका अनिल परियार र युबराज घर्तिले १–१ गोल गरे ।

व्यक्तिगत विधातर्फ ‘बेस्ट प्लेयर’मा अन्डर–टेनका सरगम थापा चयन भए । ‘हाइ स्कोरर’ कम्प्युटर साइन्सका गगन खड्का र ‘बेस्ट किपर’ कम्प्युटर साइन्सकै जीवन नेपाली घोषित भएको फाउन्डेसनका खेल प्रशिक्षक प्रीति बहादुर गिरीले जानकारी दिनुभयो ।

ज्ञान ज्योति फाउन्डेसनका सीईओ सुरेन्द्र जिसीको अध्यक्षता तथा दाङ जिल्ला फुटबल सङ्घका अध्यक्ष संजात धितालको प्रमुख आतिथ्य एवं दाङ जिल्ला टेबल टेनिस सङ्घका अध्यक्ष ऋषिराज लहरेको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

त्यस अवसरमा विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरूलाई पुरस्कार, कप, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको हो ।

त्यस अवसरमा दाङ जिल्ला फुटबल सङ्घका पूर्व अध्यक्ष सुशील श्रेष्ठ, पूर्व राष्ट्रिय खेलाडी सुधीर गुरुङ, मञ्जित बाठा, प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्का, लोकतान्त्रिक खेलकुद सङ्घ लुम्बिनी प्रदेशका उपाध्यक्ष सन्तोष वली, ज्ञान ज्योति कलेजका एकेडेमी को–अर्डिनेटर सरद गौतम, आदर्श एकेडेमिकाका प्रिन्सिपल बसन्त टण्डन, सुरज वलीलगायतको उपस्थिति थियो ।

कार्यक्रम सञ्चालन ज्ञान ज्योतिका शिक्षक सन्तोष केसीले गर्नुभएको हो ।

पाँच दिनसम्म चलेको प्रतियोगितामा फाउन्डेसनभित्र रहेका ३ कलेजका विभिन्न संकायका १३ टिमको सहभागिता रहेको थियो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस