दाङ । सुदूरपश्चिम रोयल्सलाई हराउँदै विराटनगर किङ्ग्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ ।
सुदूरपश्चिमले दिएको १ सय ४८ रनको लक्ष्य ५ विकेट गुमाएर ११ ओभर ५ बलमा भेटाउँदै विराटनगरले नेट रनरेटमा काठमान्डु गोर्खाजलाई पछि पारेर शीर्ष–२ मा रहँदै क्वालिफायरमा प्रवेश गरेको हो । विराटनगरका साम हिजलेटले ५१, फाफ डु प्लेसिसले ५०, मार्टिन गप्टिलले २२ रन बनाउनुभयो । सुदूरपश्चिमका अविनाश बोहराले २ विकेट लिनुभयो ।
प्रतियोगितामा सुदूरपश्चिमको यो पहिलो हार हो । अब एनपीएलको पहिलो क्वालिफायरमा शीर्ष स्थानमा रहेको सुदूरपश्चिम र दोस्रो स्थानमा रहेको विराटनगरबीच फेरि प्रतिस्पर्धा हुनेछ । यस्तै इलिमिनेटरमा तेस्रो स्थानको काठमान्डु र चौथो स्थानको लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ ।
पहिलो क्वालिफायरमा विजयी हुने टोली सीधै फाइनलमा पुग्नेछ भने हार्ने टोलीले दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेतासँग खेल्नेछ । इलिमिनेटरमा विजयी हुने टोली दोस्रो क्वालिफायरमा पुग्नेछ भने हार्ने टोलीको यात्रा समाप्त हुनेछ ।
यस्तै एनपीएलमा आजको दोस्रो खेलमा दिउँसो ४ बजे चितवन राइनोज र पोखरा एभेन्जर्स खेल्दैछन् । एनपीएल लिग चरणको अन्तिम खेलमा भोलि दिउँसो साढे ३ बजे जनकपुर बोल्ट्स र कर्णाली याक्स खेल्नेछन् ।
गएको मङ्सिर १ देखि शुरू भएको दोस्रो संस्करणको एनपीएलको फाइनल खेल यही २७ गते हुनेछ । प्रतियोगितमा ८ वटा टोली सहभागी छन् ।














