दाङ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज लिग चरणको अन्तिम खेल हुँदैछ ।
अपराह्न ३ :३० बजे हुने खेलमा कर्णाली याक्स र साविक विजेता जनकपुर बोल्ट्स भिड्नेछन् । छ खेलबाट समान दुई अङ्क जोडेका यी दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेकाले प्रतिष्ठाका लागि मात्र खेल्नेछन् ।
प्रतियोगितामा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स क्वालिफायरका लागि छनोट हुँदा काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सले इलिमिनेटरमा स्थान सुरक्षित गरेका छन् ।
एनपीएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरेर भइरहेका छन् । गएको मङ्सिर १ देखि शुरू भएको दोस्रो संस्करणको एनपीएलको फाइनल खेल यही २७ गते हुनेछ । प्रतियोगितमा ८ वटा टोली सहभागी छन् ।














