दाङ । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनमा लिग चरणका खेलहरु सकिएका छन् । मङ्गलबार पहिलो क्वालिफायरमा अङ्क तालिकाको शीर्ष स्थानमा रहेका सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा गर्दैछन् ।
यो खेल त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मङ्गलबार दिउँसो ४ बजेदेखि शुरु हुँदैछ । सुदूरपश्चिम दीपेन्द्रसिंह ऐरीको कप्तानीमा मैदानमा हुनेछ भने विराटनगर सन्दीप लामिछानेको कप्तानीमा रहेको छ । मङ्गलबारको विजेता टोली सोझै फाइनल प्रवेश गर्नेछ । त्यस्तै, क्वालिफायरमा पराजित हुने टोलीले इलिमिनेटर खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । इलिमिनेटरमा काठमाण्डु र लुम्बिनी भिड्दैछन् ।
क्वालिफायर खेलमा दुवै टोलीका प्रमुख खेलाडीहरूको व्यक्तिगत प्रदर्शन सबैभन्दा महत्त्वपूर्ण बन्ने देखिएको छ । पहिलो क्वालिफायरमा उत्कृष्ट खेल प्रदर्शन गर्ने टिम सिधै फाइनल पुग्नेछ । समूह चरणको अन्तिम खेलमा विराटनगरसँग पराजित भएको सुदूरपश्चिमले पहिलो क्वालिफायरमा बदला लिने रणनीति बनाएको छ ।















