दाङ। मानव अधिकार तथा शान्ति समाज दाङले ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा बुधबार नागरिक संवाद कार्यक्रम तुलसीपुरमा गरेको छ । शाखा सभापति कोमल डीसीको अध्यक्षता तथा नागरिक अगुवा टिकाराम रेग्मीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा नागरिक अगुवा टिकाराम रेग्मीले नागरिकले नै नेतृत्व चयनमा वुद्धि नपुर्याउँदा देशमा मानव अधिकारको अवस्था संकटमा पुगेको बताउनुभयो । उहाँले गत भदौ २३ गते निर्दोष बालबालिकाले ज्यान गुमाउन पुगेकोमा दुख व्यक्त गर्दै आगामी दिनमा यस्ता किसिमका घटना दोहोरिन नहुने बताउनुभयो ।
नेपाल रेडक्रस सोसाइटी दाङका सभापति हरिहर पौडेलले अझैपनि नागरिकले सम्मानपूर्वक बाँच्न पाउने अधिकारको ग्यारेन्टी हुन नसकेको बताउनुभयो । उहाँले शान्ति र अहिंसाको बाटोमा समाज जानुपर्ने बताउनुभयो । कार्यक्रममा दलित अधिकारकर्मी निर्मल नेपालीले कार्यपत्र प्रस्तुत गर्नुभएको हो ।
पत्रकार नारायण खड्काले कुनै पनि घटनाका दोषिले सजाय पाउनुपर्ने बताउनुभयो । गत भदौ २३ गते भएको घटनाका दोषिलाई पनि कार्बाहीको माग समेत गर्नुभयो । जेष्ठ नागरिक खुमानन्द अधिकारीले जेनजी आन्दोलनमा दमन गर्ने तत्कालिन नेतृत्व र सरकारीदेखि नीजि सम्पति जलाउने सबै कानुनी दायरमा आउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होम बहादुर पराजुली, वरिष्ठ अधिवक्ता बिष्णुमणी धिताल, राष्ट्रिय अपांग संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष देवा डाँगी, रिपोटर्स क्लब दाङका अध्यक्ष शरद रेग्मी, रेडियो हाम्रो पहुँचका स्टेशन म्यानेजर बसन्त पौडेल, पत्रकार दिपक बोहरा लगायतले मन्तव्य राख्नुभएको हो । कार्यक्रमको सहजीकरण सचिव माधव बस्नेतले गर्नुभएको हो ।














