२०८३ साउन ११ गते सोमवार

कृषक समूहलाई ५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण


दाङ । हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाका शेयर सदस्य तथा कृषकलाई मिनी टिलर वितरण गरिएको छ । तुलसीपुर उपमहानगरपालिका कृषि विकास शाखामार्फत ५० प्रतिशत अनुदानमा प्राप्त २ थान मिनी टिलर (हाते ट्र्याक्टर) सोमबार एक कार्यक्रमका बीच वितरण गरिएको हो ।

कृषि क्षेत्रमा यान्त्रिकीकरणको विस्तार, उत्पादन लागत घटाउने तथा कृषकको श्रम बचत गरी उत्पादन वृद्धि गर्ने उद्देश्यले किसानहरुलाई मिनी टिलर वितरण गरिएकोे हो । संस्थाका कृषक शेयर सदस्य तुलसीपुर–३ डाँडाखुटीका चेतना कडेल र तुलुसीपुर–१७ मज्गैका सुरेन्द्र बहादुर केसीलाई मिनी टिलर वितरण गरिएको संस्थाका कृषि शाखाका कर्मचारी तुलसीराम भण्डारीले जानकारी दिनुभयो ।

अनुदानमा प्राप्त मिनी टिलरबाट सहकारीमा आबद्ध शेयर सदस्य तथा कृषक समूहका किसानहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ । सहकारीले कृषि उत्पादनमा आधुनिक प्रविधिको प्रयोग बढाउँदै कृषकको आयस्तर वृद्धि गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस