दाङ । दाङ तुलसीपुरका सिद्धान्त केसीले पुरुष सौन्दर्य प्रतियोगिता ‘मिष्टर नेपाल इन्टरनेशनल २०२६’ को चौथो संस्करणको उपाधि चुम्न सफल हुनुभएको छ ।
साउन ९ गते सम्पन्न भव्य फाइनलमा अन्य ११ जना प्रतिस्पर्धीलाई पछि पार्दै तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का सिद्धान्तले यो उपाधि आफ्नो नाममा पार्नुभएको हो ।
तुलसीपुरस्थित ज्ञान ज्योति माध्यमिक विद्यालयबाट २०८० सालमा विज्ञान विषयमा प्लस टू उत्तीर्ण गर्दा उहाँ जिल्ला टप बन्नुभएको थियो । अध्ययनमा अब्बल सिद्धान्त हाल काठमाडौँमा इन्जिनियरिङ पढीरहनुभएको छ । पढाइसँगै आफ्नो व्यक्तित्व विकास, नेतृत्व क्षमता र आत्मविश्वासलाई निखार्दै उहाँले यो उत्कृष्ट सफलता हासिल गर्नुभएको छ ।

रोशन केसी र सुजन शाहका एक्ला सन्तान सिद्धान्तको यो सफलताले सम्पूर्ण दाङवासी र युवा पुस्तालाई प्रेरणा दिएको छ । उहाँलाई पढाएका शिक्षक शरद गौतमले सिद्धान्तले हासिल गरेको उपलब्धिले युवाहरूलाई लक्ष्यप्रति समर्पित भई निरन्तर मेहनत र अनुशासनका साथ अघि बढ्न प्रेरित गरेको बताउनुहुन्छ ।
‘डेनिस नेसनल’को प्रस्तुति र ‘नोभा ब्यूटी इन्टरनेसनल प्रा.लि.’को आयोजनामा भएको यस प्रतियोगितामा अन्तर्राष्ट्रिय पेजेन्ट विज्ञ र फेसन डिजाइनरसहित ५ जनाको निर्णायक मण्डल रहेको थियो । युवाको नेतृत्व क्षमता, सार्वजनिक वक्तृत्वकला, सञ्चार सीप, फिटनेस र र्याम्प वकका आधारमा उत्कृष्ट घोषित हुनुभएको हो ।
यो सफलतासँगै सिद्धान्तले अब अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने बाटो तय गर्नुभएको छ । आउँदो सेप्टेम्बरमा थाइल्यान्डमा आयोजना हुने १८औँ ‘मिस्टर इन्टरनेशनल’ प्रतियोगितामा उहाँले नेपालको तर्फबाट प्रतिस्पर्धा गर्नुहुनेछ ।













