दाङ। तुलसीपुरवासीले चालु आर्थिक वर्षभित्रै बबईको पानी खान पाउने भएका छन् । । बबई लिफ्टिङ आयोजना अन्तर्गत यस आर्थिक वर्षभित्र तुलसीपुरमा पानी पुर्याउने तयारी गरिएको हो ।
तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अनुसार अहिले मुख्य पाइपलाइन विस्तार, रिजर्व वायर र ओभरहेड ट्यांकीलगायतका संरचना निर्माण, वितरण लाइन विस्तारलगायतका काम अन्तिम चरणमा पुगिसकेको छ ।
तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष यमकान्त भण्डारीले
कुनै बाधा नआएमा तीन महिनापछिबाटै बबईको पानी उपभोक्ताको धारासम्म पुर्याइने बताउनुभयो ।
बबई लिफ्टिङ आयोजना अनुरुप पानी रिजर्व र वितरणका लागि छवटा रिजर्व वायर (जमिनमुनीको ट्यांकी), तीन वटा ओभरहेड ट्यांकी निर्माण भइसकेका छन् भने केहीको काम अन्तिम चरणमा पुगिसकेको संस्थाका कोषाध्यक्ष भोला थापाले जानकारी दिनुभयो ।
जसअन्तर्गत तुलसीपुर–७ को खर्चवामा पाँच लाख लिटर, खानेपानी कार्यालय प्रांगणमा तीन लाख लिटर, एयरपोर्ट सन्त निरंकारी टोलमा तीन लाख लिटर र तुलसीपुर–१२ कचिलामा पाँच लाख लिटरको रिजर्व वायर निर्माण भइसकेका छन् । त्यस्तै क्षेप्रकामा तीन लाख लिटर र डुम्रीगाउँमा छ लाख लिटर क्षमताको रिजर्व वायर निर्माणका क्रममा छन् ।
तुलसीपुर–७ को मोतीपुर २ लाख २५ हजार लिटर तथा तुलसीपुर–६ को इन्द्रनगरमा र शिखर कोलनीमा चार लाख ५०/चार लाख ५० हजार लिटर क्षमताका ओभर हेड ट्यांकी निर्माण भइसकेका छन् । क्षेप्रका क्षेत्रको ट्यांकीमा जग्गा विवादका कारण केही समस्या भएकोले काममा ढिलाइ भएको कोषाध्यक्ष थापाले बताउनुभयो ।
आयोजनामा हालसम्म ६२ करोड रकम खर्च भइसकेको कोषाध्यक्ष थापाले बताउनुभयो । यो आयोजना २०७९ असार २९ गते सम्झौता भएर २०८२ असार २८ गते निर्माण सम्पन्न गर्ने गरी अगाडि बढाइएको थियो तर निर्धारित समयमा काम नसकिएपछि आगामी असार मसान्तसम्म ११ महिना म्याद थप गरिएको छ । नयाँ युगबोध राष्ट्रिय दैनिकमा एकराज भण्डारीले खबर लेख्नुभएको छ ।















