दाङ। दाङ उपत्यकासहित देशभर चिसो बढ्दै गएको छ । पछिल्लो समय दाङको अधिकतम र न्युनतम तापक्रम घट्दै गएको छ । दाङको अधिकतम तापक्रम २१ डीग्री सेल्सीयस र न्युनतम तापक्रम ७ डिग्री सेल्सीयस आसपासमा मापन गरिएको छ ।
चिसो बढेसँगै तराई मधेशका विभिन्न जिल्लामा यतिबेला शीतलहर चल्न थालेको छ । हरेक दिन तापक्रम घट्दै गए पनि शीतलहरको असरबाट बच्नका लागि सरकारले पूर्वतयारी गरेको छैन ।
सरकारले जाडो मौसमका लागि हिमाली तथा उच्च पहाडी क्षेत्रमा हुने हिमपात र तराईमा पर्ने शीतलहरलाई लक्षित गरी दुई छुट्टा–छुट्टै कार्ययोजना तयार पारेको भने पनि पूर्वतयारी भने शून्य छ ।
शीतलहर चलेपछि बैठक बोलाउने र घाम लागेपछि गरिबको झुपडीमा न्यानो लुगा लिएर जाने प्रवृत्तिमा सुधार भएको छैन । तराई मधेशमा पुस र माघ महिनामा प्रत्येक वर्ष शीतलहर चल्ने गर्छ । कयौं दिनसम्म घाम नलागेर गहिरो विपद्को रूपमा देखा पर्ने शितलहर यतिबेला सुरु भएको छ ।
विशेषगरी पुस र माघमा आकाशलाई दिनभरि नै कुहिरोले ढाक्ने र घाम नलाग्ने हुँदा अत्यन्त चिसो शीत खस्छ । यसरी चिसो बतास चल्ने अवस्थालाई शीतलहरको प्राकृतिक प्रकोप भनिन्छ । न्यूनतम र अघिकत्तम तापक्रममा खासै भिन्नता नभएर शीतलर चल्दा पैताला, टाउको, घाँटी, छाती र हातबाट शरीरमा चिसो पस्छ ।
जस्ले गर्दा झाडापखाला, रुघाखोकी, दम, बाथरोग लाग्ने, जीउ दुख्ने, मानसिक तनाव बढ्ने लगायतका स्वास्थ्य समयमा बढ्ने हुनाले विशेष सतर्कता अपनाउन न्यानो लुगा, तातो खाना र आवश्यक कामबाहेक जथाभावी घर बाहिर ननिस्कन चिकित्सकको सुझाव छ । तर सरकारीस्तरमा अहिलेसम्म कुनै कार्य योजनासमेत बनाउन सकेको छैन । पुस महिनाको सुरूवातमै चिसो हावासँगै चल्ने शीतलहरले सर्वसाधारणमा चिन्ता र जोखिम दुबै बढाएको छ ।
चिसो सिरेटो हावा र त्यसबाट उत्पन्न हुने शितलहरले न्यानो लत्ताकपडा र तातो पौष्टिक भोजनको अभावमा सबभन्दा बढी प्रभावित गरिब र विपन्न समुदायका वृद्ध–वृद्धा, बालबालिका र सुत्केरी महिला हुँदै आएको छ । दैनिक मजदुरी गरेर गुजारा चलाउँदै आएकाहरुको पनि हाथमुख जोडने र स्वास्थ्य सुरक्षाको जोखिम भने कम छैन ।














