२०८२ माघ ८ गते बिहिवार

दाङ भ्याली यातायात हापुरेको अधिवेशन, उत्कृष्ठ चालकलाई सम्मान

दाङ। दाङ भ्याली यातायात प्रालि हापुरे शाखाको अधिवेशन तथा ब्यावसायीक भेला पश्चिम दाङको चिसापानीमा सम्पन्न भएको छ ।

भेलाले शाखाको संयोजकमा सुकदेव बिक, सह–संयोजकमा टेक बहादुर डाँगी र सदस्यमा मान बहादुर विकलाई सर्वसम्मत रूपमा चयन गरेको छ भने दुई जना सल्लाहकारपछि मनोनित गरिने छ ।

कार्यक्रममा प्रालिका अध्यक्ष महेन्द्र महराले चालकको लापरवाहीले हुने दुर्घटनाको दर शुन्यमा झार्नुपर्ने भन्दै चालकलाई सुझाब दिनुभयो । यस्तै संस्थाले व्यावसायिक हकहितका निम्ति गरिरहेका काम कारवाहीका बिषयमा समेत उहाँले प्रकाश पार्नुभएको छ ।

यस्तै कार्यक्रममा ट्राफिक प्रहरी पोष्ट खिलतपुरका इन्चार्ज हेमराज डाँगीले अटो चालकहरुलाई ट्राफिक नियम सम्बन्धी प्रशिक्षण गर्नुभएको छ ।

कार्यक्रममा प्रालिका शाखा सह–संयोजक टेक बहादुर डाँगी, वरिष्ठ उपाध्यक्ष प्रेम बहादुर रेउले लगायतले अटो सेवा प्रभावकारी बन्दै गएको र दुर्घटना न्यूनिकरणमा चालकले विषेश ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

संस्थाका संरक्षक तथा निवर्तमान अध्यक्ष बेत प्रकाश वलीको स्वागत मन्तब्यबाट शरु भएको कार्यक्रमको सञ्चालन हापुरे शाखा संयोजक सुकदेव विकले गर्नुभएको हो ।

उत्कृष्ठ चालक सम्मानित
यसैबिच पश्चिम दाङ हापुरेका यातायात व्यवसायी पोखराज डाँगीलाई प्रालिले उत्कृष्ठ चालकको रूपमा सम्मान गरेको छ । सवारी दुर्घटना नगरेका, ट्राफिक कारबाहीमा नपरेका, सम्पूर्ण कागजपत्र भएका र संस्थागत नियमहरूको परिपालना गर्ने लगायतका मापदण्ड अनुसार चालकहरुलाई संस्थाले विभिन्न समयमा प्रोत्साहन गर्न सम्मान गर्ने गरेको छ । यस्ता सम्मानित कामहरुले चालकहरुमा हौसला प्रदान हुने सवारी दुर्घटना न्युनिकरणमा केही भुमिका खेल्ने संस्थाको विश्वास छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस