२०८३ बैशाख २६ गते शनिवार

कठ्याङ्ग्रिदो चिसोले जनजीवन कष्टकर


दाङ । दाङ उपत्यकासहित देशभरका अधिकांश भू–भागमा पछिल्लो केही दिनयता चिसो अत्यधिक बढेको छ । तराईका जिल्लाहरूमा बिहानैदेखि लाग्ने बाक्लो हुस्सु र कुहिरोका कारण जनजीवन प्रभावित बनेको छ ।

जल तथा मौसम फिल्ड कार्यालय, दाङका अनुसार आजको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस मापन गरिएको छ । यद्यपि शुक्रबारको तुलनामा आज न्यूनतम तापक्रम बढी हो । तर घाम नलाग्ने र शितलहर चल्ने क्रम बढेकाले सर्वसाधारणले अत्यधिक चिसो महसुस गरेका छन् ।

चिसो बढेसँगै दाङका बजार क्षेत्रमा मानिसहरूको चहलपहल कम देखिएको छ । ग्रामीण भेगमा दाउरा बालेर ताप्ने क्रम बढेको छ भने स्वास्थ्यकर्मीहरूले वृद्धवृद्धा र बालबालिकालाई विशेष ख्याल गर्न आग्रह गरेका छन् । विशेषगरी श्वासप्रश्वास र निमोनियाका बिरामीहरूलाई सतर्क रहन भनिएको छ ।

मौसमविद्हरूका अनुसार अझै केही दिन कुहिरो लाग्ने र चिसो कायमै रहने सम्भावना रहेकाले न्यानो लुगा लगाउन र खानपानमा ध्यान दिन आवश्यक छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस