दाङ । सरकारले देशभरका सार्वजनिक एवं सरकारी जग्गामा गरिएका अतिक्रमण हटाउने अभियान तीव्र पारिरहेका बेला दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालले पनि आफ्नो अतिक्रमित जग्गा खाली गराउने कानुनी प्रक्रिया अगाडि बढाएको छ ।
लामो समयदेखि अस्पतालको स्वामित्वमा रहेको जग्गा व्यक्तिले उपभोग गरिरहेको जनगुनासो बढेपछि अस्पताल प्रशासनले मंगलबार (जेठ ५ गते ) जग्गाको स्थलगत नापजाँच गरेको छ ।
अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र लामिछानेले मंगलबार नापी कार्यालय र तुलसीपुर उपमहानगरपालिकाको प्राविधिक टोलीले अस्पतालको चारकिल्ला छुट्याउने काम गरेको बताउनुभयो ।
उहाँका अनुसार प्राविधिक टोलीले अस्पतालको स्वामित्वमा रहेको चारैतर्फको सिमानाको नापजाँच गरेको हो । उत्तरमा इलाका प्रहरी कार्यालय तुलसीपुरको क्षेत्र, पश्चिममा रानीजरुवा क्षेत्र, पूर्वमा जेसिजको कार्यालय परिसरसम्म र दक्षिणमा तुलसी बोर्डिङ स्कुलसम्मको क्षेत्र नापजाँच गरिएको हो ।
सम्भावित विवादलाई मध्यनजर गर्दै सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा नापजाँच गरिएको हो । नाँपजाँच कार्यमा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल आफैँ सहभागी रहनुभएको थियो । अस्पतालको जग्गा मिचेर हालसम्म करिब ५० वटा घर तथा अन्य भौतिक संरचनाहरू निर्माण भइसकेको प्रारम्भिक अनुमान छ ।
तर, अतिक्रमणको वास्तविक क्षेत्रफल र अवैध रूपमा बनेका संरचनाको यकिन तथ्यांक आउन भने केही दिन लाग्ने अस्पतालका प्रशासन प्रमुख हुकुम वलीले जानकारी दिनुभयो ।
अस्पताल प्रशासनका अनुसार अस्पतालको कुल जग्गा करिब पौने ८ बिगाहा हो । तर ७ बिगाह ८ कठ्ठामा मात्रै अस्पतालका संरचना बनेका छन् । अस्पतालको पूर्वतर्फ गेट नजिकै १ कठ्ठा १ धुर जग्गामा ८ वटा संरचना अतिक्रमण गरेर बनेका छन् । यस्तै उत्तरतर्फ करिब ३४ वटा संरचना बनेका छन् । अरु यकिन विवरण केहि दिनभित्रै आउने अस्पतालले जनाएको छ ।
सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने सरकारको नीतिअनुरूप अस्पतालले अबको केही दिनभित्रै अतिक्रमित जग्गा खाली गर्न ३५ दिने सार्वजनिक सूचना जारी गर्ने तयारी गरेको छ ।
















