दाङ। विद्यार्थीहरूमा खेलकुदप्रति आकर्षण बढाउन र नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ गोरखा मावि तुलसीपुरले १५ औँ वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी खेलकुद कार्यक्रम गरेको छ ।

विद्यालयले सप्ताहव्यापी खेलकुद कार्यक्रम अन्तर्गत क्रिकेट प्रतियोगिता, फुटबल प्रतियोगिता, भलिबल प्रतियोगिता, मिनी म्याराथुन दौड, लङजम्प, हाइजम्प, एथ्लेटिक्स लगायतका खेलहरु संचालन गरेको हो ।
सप्ताहव्यापी खेलकुद कार्यक्रमको बुधबार समापन गरिएको छ । गोरखा स्कुलका अध्यक्ष एवं गोरखा ग्रुपका अध्यक्ष बिष्णुप्रसाद घर्ती मगरको अध्यक्षता तथा लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेयको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम भएको हो ।
त्यस अवसरमा मन्त्री पाण्डेयले खेलकुद क्षेत्रको विकासले आर्थिक विकास र समृद्धी हासिल गर्न सकिने बताउनुभएको छ । उहाँले विद्यालयले आयोजना गर्ने खेलकुद कार्यक्रमले नयाँ खेलाडी उत्पादनमा सहयोग पुग्ने र विद्यार्थीलाई खेल क्षेत्रमा आर्कषण बढाउने बताउनुभयो ।

उहाँले खेलकुद क्षेत्र र पर्यटन क्षेत्रसंग जोडिएको भन्दै खेलकुद प्रतियोगिताको माध्यमबाट पर्यटकलाई आर्कषण गर्न सकिने बताउनुभयो । विद्यालयले प्रतियोगितामा बिजयी खेलाडीलाई शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरेको छ भने विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ ।
विद्यालयका प्रधानाध्यापक बिजयमान जी.एमले विद्यालयले शुक्रबार कार्यक्रम १५ औँ वार्षिकोत्सव मनाउन लागेको जानकारी दिनुभयो । वार्षिकोत्सवको अवसरमा खेलकुदका गतिविधि संचालन गरिएको उहाँले बताउनुभयो ।















