२०८२ माघ ८ गते बिहिवार

सुनछहरीका ३७४ घरधुरी अझै अन्धकारमा

रोल्पा, १७ पुस । देशभर विद्युत् पहुँच ९८ प्रतिशत नाघेको सरकारी दाबी भइरहँदा रोल्पा जिल्लाको सुनछहरी गाउँपालिका–१, फुलिवन र सेरमका नागरिकहरू भने आज पनि उज्यालोको आधारभूत सुविधाबाट वञ्चित छन् ।

करिब ३७४ घरधुरीका १ हजार ९७२ जनसंख्याका लागि डिजिटल नेपाल र प्रविधिमैत्री शिक्षा जस्ता सरकारी नाराहरू केवल कागजमै सीमित देखिएका छन् ।

विद्युत् विस्तारका नाममा वर्षौँअघि गाउँमा पोल गाड्ने र तार तान्ने काम सम्पन्न गरिए पनि अहिलेसम्म एक घरमा पनि राष्ट्रिय प्रसारण लाइनको बत्ती बल्न सकेको छैन ।

स्थानीय बासिन्दाहरू अहिले पनि सोलार, दियो र मैनबत्तीको भरमा रात काट्न बाध्य छन् । जसका कारण विद्यार्थीहरूको पढाइ र सूचना प्राप्तिमा ठूलो बाधा पुगेको छ ।

विद्युत् अभावको सबैभन्दा गम्भीर असर स्वास्थ्य सेवामा देखिएको छ । गाउँमा स्वास्थ्य चौकी भए पनि रातिको समयमा विद्युत् नहुँदा आकस्मिक उपचार सेवा दिन कठिन हुने गरेको छ ।

गर्भवती महिला, जेष्ठ नागरिक र गम्भीर बिरामीलाई अन्धकारमै बोकेर अन्य वडाका स्वास्थ्य संस्थासम्म लैजानुपर्ने बाध्यता अझै अन्त्य हुन सकेको छैन । यस्तो चुनौतीपूर्ण अवस्थामा हुनसक्ने मानवीय जोखिमको जिम्मेवारी कसले लिने भन्ने प्रश्न स्थानीयले उठाउँदै आएका छन् ।

यस वडामा विद्युत् मात्र होइन, खानेपानी, सडक र सञ्चारको अवस्था पनि उस्तै दयनीय छ । व्यवस्थित खानेपानी योजना नहुँदा अधिकांश घरधुरी मुहान र खोल्साको भरमा छन् भने वर्षायाममा कच्ची सडक हिलाम्मे हुँदा यो क्षेत्र गाउँपालिकाको केन्द्रबाटै विच्छेद हुने गर्दछ ।

कमजोर मोबाइल नेटवर्क र इन्टरनेट सेवाले गर्दा सरकारी सेवा र सूचनामा पहुँच झन् कठिन बनेको छ । विद्युत् विस्तारका लागि विभिन्न तहका सरकारबाट लाखौँ बजेट विनियोजन भए पनि त्यसको प्रभाव गाउँमा नदेखिनु दुःखद पक्ष हो ।

पोल र तार गाडेर मात्र विकास नहुने भन्दै स्थानीयले ‘हामीले कहिले उज्यालो पाउँछौँ ?’ भनी प्रश्न गरिरहेका छन् । विकासका चम्किला सरकारी तथ्याङ्क र सुनछहरीको वास्तविक अन्धकारबीचको यो अन्तर कहिले अन्त्य हुन्छ भन्ने कुरा अझै अनुत्तरित छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस