२०८२ माघ ७ गते बुधवार

तुलसीपुर –१२ को वडा स्तरीय माघ विशेष सांस्कृतिक कार्यक्रम


दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१२ ले वडा स्तरीय माघ विशेष सांस्कृतिक कार्यक्रम गरेको छ । आज शनिबार एक कार्यक्रमको आयोजना गरी वडा स्तरीय माघ विशेष संस्कृतिक कार्यक्रम गरेको हो ।

तुलसीपुर–१२ का अध्यक्ष खुशीराम चौधरीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यता एवम् नगर उपप्रमुख स्यानी चौधरीको विशिष्ठ आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख खड्काले माघि पर्व थारु समुदायको मात्र नभई समग्र समाजको सांस्कृतिक धरोहर भएको बताउनुभयो । उहाँले मौलिक भाषा, भेषभूषा र संस्कृतिको संरक्षणमा स्थानीय सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमहरूले समुदायबीच आपसी सद्भाव र पहिचानलाई थप मजबुत बनाउने धारणा राख्नुभयो ।

वडा अध्यक्ष खुशीराम चौधरीले माघि थारु समुदायको राष्ट्रिय पर्व भएको उल्लेख गर्दै पुर्खादेखि नै विशेष महत्वका साथ मनाइँदै आएको बताउनुभयो । उहाँले थारु समुदायको संस्कार, संस्कृति, भेषभूषा र रहनसहन अन्य समुदायभन्दा फरक र विशिष्ट रहेको भन्दै यसको संरक्षण आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

थारु समुदायले माघिलाई नयाँ वर्षको रूपमा मनाउने गरेको उल्लेख गर्दै अध्यक्ष चौधरीले माघि पछि गाउँघरका कामकाज नयाँ ढंगले सुरु गर्ने परम्परा रहेको बताउनुभयो । पछिल्लो समय माघिको महत्व कमजोर बन्दै गएकाले यसको संरक्षण र युवा पुस्तामा हस्तान्तरण गर्न वडाले हरेक वर्ष यस्ता कार्यक्रम आयोजना गर्दै आएको उहाँको भनाइ छ ।

कार्यक्रममा थारु कल्याणकारीणी सभाका केन्द्रीय सदस्य रामबहादुर दहितले माघि थारु समुदायको नयाँ वर्ष भएको बताउँदै माघ १ गतेदेखि थारु संवत् २६४९ लाई बिदाइ गरी थारु संवत् २६५० मा प्रवेश गर्ने जानकारी दिनुभयो । माघिको अवसरमा वर्षभरि गर्ने कामको योजना बनाउने, गाउँमा महतवा छनोट गर्ने जस्ता परम्परागत अभ्यासलाई जोगाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा वडाका पूर्व अध्यक्ष सुर्य बहादुर डाँगी, तुलसीपुरका पर्यटन तथा संस्कृति प्रबद्र्धन शाखाका झरेन्द्र खरेल, महतवा महासंघ तुलसीपुरका अध्यक्ष बुझौना थारु लगाएतकाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको हो ।

कार्यक्रममा थारु समुदायको मौलिक संस्कार, संस्कृति र पहिचान झल्किने विविध गतिविधि प्रस्तुत गरिएका थिए । थारु समुदायका महिला तथा पुरुषहरू मौलिक भेषभूषामा सजिएर ढकिया, डेल्वा, माटोको गाग्री, भौकाभौकी, हलो–जुवा लगायत पहिचान झल्काउने सामग्रीसहित कार्यक्रममा सहभागी भएका थिए ।

यसैबिच कार्यक्रममा वडाले वडा भित्रका महतवा, सुडिने, गुरुवा वैद्य, स्वास्थ्य स्वयंसेविका तथा खेलाडीहरूलाई सम्मान गरेको छ ।
वडा सदस्य शेषमणी भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण वडा सचिव गणेश कुमार आचार्य र पत्रकार सुरक्षा चौधरीले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस