सल्यान। सल्यानमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । कालिमाटी गाउँपालिका–७ पर्सेनीमा बाघको आक्रमणबाट सोहि ठाउँकै अन्दाजी ४२ वर्षीया धनसरी रावतको बाघको आक्रमबाट मृत्यु भएको हो ।
उहााले शुक्रबार दिउँसो घर नजिकैको जंगलमा घाँस–दाउरा काट्न गएकी बेला बाघले आक्रमण गरेको हो ।
स्थानीयका अनुसार दिउँसो करिब सवा तीन बजे बाघले आक्रमण गरी रावतलाई जंगलतर्फ तानेर लगेको थियो । सो घटनाको जानकारी स्थानीयवासीले प्रहरी चौकी घुईयाबारी, सल्यानमा टेलिफोनमार्फत दिएका थिए ।
सूचना प्राप्त भएपछि दिउँसो साढे ३ बजे प्रहरी सहायक निरीक्षक लालबहादुर थापाको कमाण्डमा दुई जनाको प्रहरी टोली स्थानीयवासीसँगै खोजतलासका लागि घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ ।
घटनास्थल प्रहरी चौकी घुईयाबारीबाट करिब एक किलोमिटर दक्षिणतर्फ पर्ने हरियाली सामुदायिक वन क्षेत्रमा पर्दछ । प्रहरीकाअनुसार खोजतलासका क्रममा साँझ करिब ५ बजे रावतको शव घरबाट करिब ५०० मिटर दक्षिणतर्फ हरियाली सामुदायिक जंगलमा फेला परेको हो ।
शवको बायाँ खुट्टा र मलद्वारको भाग बाघले खाएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ । यसअघि दुई दिनअघि सल्यान–सुर्खेत सिमाक्षेत्रअन्तर्गत सुर्खेतको भेरीगंगा नगरपालिका–५ गेरवानी निवासी ५७ वर्षीया गंगा सारुको पनि बाघको आक्रमणबाट मृत्यु भएको थियो ।
एक साताभित्रै बाघको आक्रमणबाट दुई जनाको मृत्यु भएपछि स्थानीयवासीले निकुञ्ज प्रशासनको लापरवाही भएको आरोप लगाएका छन् । स्थानीय पुरुषोत्तम भट्टराईले दुई दिनअघि नै बाघले मानिसमाथि आक्रमण गरेपनि समयमै खोजतलास र नियन्त्रणको पहल नहुँदा दुःखद घटना दोहोरिन पुगेको बताउनुभयो ।


















