२०८२ फाल्गुन २६ गते मङ्गलवार

तुलसीपुर –४ मा माघी मिलन कार्यक्रम


दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर –४ मा माघी मिलन कार्यक्रम भएको छ । थारु कला, भेषभुषा संरक्षणका लागि कार्यक्रम गरिएको हो ।

त्यस अवसरमा तुलसीपुर–४ का वडा अध्यक्ष तुलसी थापा मगरले थारु समुदायको यस्ता कार्यक्रमले एकता, सामिप्यता र सम्बन्ध प्रगाढ बनाउन भुमिका खेल्ने बताउनुभयो ।

थारु समुदायको परम्परागत संस्कृती बचाउन वडाले गत वर्षदेखि थोरै भएपनि सहयोग गर्न थालेको बताउनुभयो । थारु समुदाय कला संस्कृतिमा धनी भएको भन्दै आफ्नो भेषभुषा, पहिचान संरक्षणको लागि यो कार्यक्रम महत्वपूर्ण भएको बताउनुभयो ।

तुलसीपुर ४ र ७ का विभिन्न टोललाई समेटेर गरेको कार्यक्रमले अत्यन्तै राम्रो सन्देश फैलाएको उहाँको भनाइ छ । आगामी दिनमा थारु समुदायका यस्ता कार्यक्रमलाई स्तरीय बनाउन वडा बजेट बढाएर अघि बढ्ने बताउनुभयो ।

यसैगरी तुलसीपुर नगर मतवा अध्यक्ष बुझौना चौधरीले थारु समुदायको पहिचान र परम्परा बचाउन अबका पुस्ताले यस्ता कार्यक्रममा जोड दिनुपर्ने बताउनुभयो । यस्तै वडा सदस्य दामोदर न्यौपानेले आफ्नै गाउँमा भएको माघी मिलन कार्यक्रमले समाजमा सद्भाव र एकता झल्किएको बताउनुभयो । समाजसेवी सुन्दर चौधरी, हरिप्रसाद बन्जाडे सबैको आत्मिय व्यवहार र सहयोगले कार्यक्रम सफल भएको बताउनुभयो ।

कार्यक्रममा विभिन्न टोल, सामाजिक अगुवा, जेष्ठ नागरिक, सुरन्या, मतावा, गुरुवा, आर्थिक सहयोगी दाता, स्वास्थ्य स्वयम सेविका लगायतलाई सम्मान गरिएको हो । त्यस अवसरमा विभिन्न तुलसीपुर–७ माथिल्लो हलवार, तल्लो हलवार, बुढागाउँ टोल, बम्नै टोल, बोकटी टोल, घुसरी टोल र तुलसीपुर ४ का विभिन्न टोल विकास संस्थाले आफ्नो नृत्य प्रस्तुत गरेका हुन् ।

पशुपति टोल विकास संस्था अध्यक्ष भुवन चौधरीको अध्यक्षता तथा तुलसीपुर ४ का वडा अध्यक्ष तुलसी थापा मगरको प्रमुख आतिथ्यता एवंम बुझौना चौधरीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

सुनिता चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमका बारेमा शुखु चौधरीले प्रकाश पार्नु भएको हो । कार्यक्रमको सहजीकरण सन्दिप चौधरीले गर्नु भएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस