सल्यान । सल्यानको प्रमुख व्यापारिक केन्द्र कपुरकोट क्षेत्रमा पछिल्लो केही दिनयता अत्याधिक चिसो बढेको छ । बिहानपख बाक्लो तुसारो जम्न थालेपछि स्थानीय बासिन्दाको जनजीवन कष्टकर बनेको छ ।
बढ्दो चिसोका कारण विशेषगरी ज्येष्ठ नागरिक, बालबालिका र सुत्केरी महिलाहरू बढी प्रभावित भएका छन् । अत्यधिक चिसोले गर्दा दम, निमोनिया र रुघाखोकीजस्ता स्वास्थ्य समस्या देखिन थालेको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।
बिहानको समयमा घरबाहिर निस्कन मुस्किल भएपछि कपुरकोट बजार र आसपासका क्षेत्रमा चहलपहल निकै कम देखिएको छ । कपुरकोट क्षेत्र बेमौसमी र मौसमी तरकारी खेतीका लागि प्रसिद्ध मानिन्छ । तर तुसारोका कारण कृषकहरू चिन्तित बनेका छन् ।
खेतबारीमा लगाइएको आलु, चना, मसुरो र तोरी खेतीलाई तुसारोले डढाउन थालेको स्थानीय कमला घर्तीले बताउनुभयो । चिसोका कारण पशुचौपायालाई घाँसपात र दानापानीको व्यवस्थापन गर्न कठिन भएको छ । गोठहरूमा चिसो बढेपछि गाईवस्तु, बाख्रा र कुखुराहरूमा रोगको संक्रमण बढ्ने खतरा बढेको छ ।
चिसोका कारण बिहानै खुल्ने पसलहरू पनि ढिलो गरी खुल्न थालेका छन् ।














