२०८३ असोज ७ गते बुधवार

२५ करोड बजेटपछि टरिगाउँ विमानस्थल विस्तारको आशा


दाङ । दाङको तुलसीपुर–१२ स्थित टरिगाउँ विमानस्थल विस्तारका लागि संघीय सरकारले करिब २५ करोड रुपैयाँ बजेट विनियोजन गरेपछि विमानस्थलको स्तरवृद्धिको काम अघि बढ्ने आशा पलाएको छ ।

२०११ सालमा सञ्चालनमा आएको टरिगाउँ विमानस्थलको धावनमार्ग अहिले ७५० मिटर लामो छ । धावनमार्ग छोटो भएकै कारण यहाँ १९ सिट क्षमताका ट्विनअटर विमानमात्रै सञ्चालन गर्न सक्ने अवस्था छ ।

विमानस्थल विस्तारका लागि यसअघि पटक–पटक पहल भए पनि पर्याप्त बजेट नहुँदा काम अघि बढ्न सकेको थिएन । विस्तृत परियोजना प्रतिवेदन डीपीआर भने तयार भइसकेको छ ।

संघीय सरकारले बजेट विनियोजन गरेपछि अब आवश्यक सर्वेक्षणको तयारी थालिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण, तुलसीपुरका वरिष्ठ अधिकृत प्रदीप भुसालका अनुसार केन्द्रीय कार्यालयबाट इन्जिनियर पठाएर सर्वेक्षण गर्ने विषयमा छलफल भइरहेको छ । इन्जिनियर दसैँअघि आउने वा दसैँपछि भन्ने विषय भने टुंगो लाग्न बाँकी छ ।

विमानस्थल विस्तारका क्रममा थप जग्गा आवश्यक पर्ने भएकाले सरकारीसँगै केही निजी जग्गासमेत अधिग्रहण गर्नुपर्ने हुन सक्ने प्राधिकरणले जनाएको छ । यसका लागि आवश्यक प्रक्रिया पूरा गर्न भने समय लाग्नेछ ।

यसअघि एक–दुई करोड रुपैयाँमात्रै बजेट आउने गरेकोमा अहिले ठूलो बजेट विनियोजन भएकाले जग्गा प्राप्ति र विस्तारका अन्य काम अघि बढाउन सहज हुने अपेक्षा गरिएको छ ।

तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्काले विमानस्थल विस्तारका लागि नगरपालिकाले निरन्तर पहल र आवश्यक सहयोग गर्दै आएको बताउनुभयो । संघीय सरकारले बजेट विनियोजन गर्नु सकारात्मक भए पनि बजेट कार्यान्वयनसँगै थप आवश्यक बजेटका लागि पनि पहल गर्नुपर्ने उहाँको भनाइ छ ।

लुम्बिनी प्रदेश योजना आयोगका पूर्वउपाध्यक्ष डा. नहकुल केसीले विमानस्थल विस्तारको काम ढिला नगरी अघि बढाउनुपर्ने बताउनुभयो । तुलसीपुरमा नियमित हवाई सेवा सञ्चालन भए दाङसँगै रोल्पा, रुकुम र प्युठानका नागरिकले समेत लाभ लिन सक्ने उहाँको भनाइ छ ।

यता, टरिगाउँ विमानस्थलमा नेपाल वायुसेवा निगमको उडान तालिका भए पनि नियमित उडान हुन सकेको छैन । नेपाल एयरलाइन्सका तुलसीपुर शाखा प्रमुख बलबहादुर सुनारका अनुसार आइतबार, मंगलबार, बिहीबार र शुक्रबार गरी सातामा चार दिन तुलसीपुर–काठमाडौँ उडानको तालिका छ ।

तर, पर्याप्त यात्रु नपुग्दा र मौसम प्रतिकूल हुँदा उडान प्रभावित हुने गरेको छ । शाखाका अनुसार असारमा आउने–जाने गरी जम्मा ११ जना र भदौमा १२ जना यात्रु थिए । साउन महिनाभर भने तुलसीपुरमा एकपटक पनि उडान हुन सकेन ।

हाल तुलसीपुर–काठमाडौँ एकतर्फी हवाई भाडा १२ हजार ६५८ रुपैयाँ कायम छ । भाडादर, यात्रुको न्यून संख्या र मौसमसम्बन्धी समस्याका कारण उडान नियमित हुन नसकेको बताइएको छ ।

उडान अनियमित हुँदा तुलसीपुर तथा आसपासका यात्रुले काठमाडौँ आवतजावतका लागि भैरहवा र नेपालगञ्ज विमानस्थल प्रयोग गर्नुपर्ने बाध्यता छ । यसले यात्रुको समय र खर्च दुवै बढाउने गरेको छ ।

तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले विमानस्थलको दीर्घकालीन समस्या समाधानका लागि धावनमार्ग विस्तारलाई प्राथमिकतामा राखिएको बताउनुभयो । तुलसीपुर उद्योग वाणिज्य संघले पनि नियमित उडानका लागि पहल गर्दै आएको छ ।
–रातोपाटी

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस