२०८२ माघ २५ गते आइतवार

दलित महिलालाई उद्यमी बनाउन बिउँ पुँजी वितरण

दाङ । दलित महिला संघ दाङले महिलालाई उद्यमी बनाउन आवश्यक बिउँ पुँजी वितरण गरेको छ । संघले दलित महिलाको आर्थिक आयस्तरमा सुधार ल्याउन सोमबार बिउँ पुँजी सहयोग गरेको हो ।

संघले सोमबार तुलसीपुर उपमहानगरपालिका भित्रका दलित विपन्न महिलालाई उद्यममा जोड्नका लागि बिउँ पुँजीवाफत ५० हजारका दरले रकम वितरण गरेको अध्यक्ष युवा कराराले बताउनुभयो । अध्यक्ष कराराले रकमको सहि सदुपयोग गरी आर्थिकरुपमा सबल बन्न महिलालाई अनुरोध समेत गर्नुभएको छ ।

उहाँले रकमको सहिरुपमा सदुपयोग भए/नभएको स्थानीय सरकारसंगको समन्वयमा अनुगमन गरिने र उद्यमभन्दा बाहिर लगानी गरेको पाइएमा रकम फिर्ता ल्याउने बताउनुभयो ।

दलित महिला संघले स्थानीय तहसंगको समन्वयमा दाङका विभिन्न पालिकामा दलित महिलालाई उद्यममा जोड्नका लागि आवश्यक रकम बिना धितो कर्जाको रुपमा सहयोग गर्ने गरेको छ ।

संघबाट प्राप्त रकमले महिलाले बाख्रापालन, बंगुरपालनदेखि पानी पुरी जस्ता व्यवसायमा लगानी गरेर आर्थिक मुनाफा लिने गरेका छन् ।

बिउँ पुँजी वितरण कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष दुजमान भण्डारी, वडा नम्बर १० का अध्यक्ष यमराज केसी, तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य यमुना परियार, दंगिशरण गाउँपालिका कार्यपालिका सदस्य शितरा नेपाली, सामाजिक अभियान्ता खेमराज विश्वकर्मा लगायतले बिउँ पुँजीको सहीरुपमा सदुपयोग गरी आर्थिकरुपमा सबल बन्नुपर्ने बताउनुभयो । कार्यक्रमको सहजीकरण दलित महिला संघ दाङका सचिव गंगा विश्वकर्माले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस