दाङ ।
राप्ती राजमार्ग अन्तर्गत दाङ र सल्यान जोड्ने पैयाँखोरे–राम्री सडक बन्द गरेर स्तरोन्नती गरिने भएको छ । दैनिक छ घण्टा बन्द गरेर सडक स्तरोन्नती गर्न लागिएको हो ।
सडक स्तरोन्नति तथा चौडा गर्ने कार्यका कारण निश्चित समयका लागि सवारी आवागमन बन्द हुने भएको हो ।
सडक डिभिजन कार्यालय दाङका अनुसार पैयाखोरे हुँदै हर्नेटीदेखि राम्रीसम्मको सडक खण्ड आगामी माघ ८ गतेदेखि माघ २५ गतेसम्म दैनिक बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द गरी निर्माण कार्य सञ्चालन गरिने भएको हो ।
सडक डिभिजन कार्यालय दाङका प्रमुख इन्जिनियर दीपेन्द्रबहादुर विष्टले यस खण्डमा सडक चौडा गर्ने कार्य तीव्र रूपमा अघि बढिरहेको बताउनुभयो । गत वर्ष राम्री–कपुरकोट सडक खण्डमा दिउँसोको समयमा सवारी आवागमन बन्द गरी काम गर्दा सहज भएको अनुभवका आधारमा यस वर्ष पनि सोही मोडालिटी अपनाइएको उहाँले जानकारी दिनुभयो ।
निर्माण अवधिभर साना तथा अत्यावश्यक सवारी साधनका लागि वैकल्पिक मार्गको व्यवस्था गरिएको छ । सल्यानका प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाका अनुसार यात्रुहरूले पैयाखोरिया–सातावास–किमुचौर–कपुरकोट सडक तथा तुलसीपुर–कालिमाटी–लुहाम सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सक्ने छन् ।














