दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–७ झुमरेमा रहेको हाम्रो पहुँच सेकेन्डरी स्कुलमा शैक्षिक सत्र २०८३ का लागि विद्यालय नेतृत्व चयन गर्न निर्वाचन गरिएको छ । हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाद्वारा सञ्चालित विद्यालयमा स्थानीय तहको निर्वाचनको झल्को दिने गरी आयोजित निर्वाचनमा विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका छन् ।
विद्यालयले स्थापनाकालदेखि नै विद्यार्थीहरूलाई व्यवहारिक सीप सिकाउँदै आएको र हरेक वर्ष निर्वाचन प्रक्रिया सञ्चालन गर्दै आएको जनाएको छ । विद्यार्थीहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा प्रजातान्त्रिक अभ्यासलाई प्रोत्साहन गर्ने उद्देश्यले विद्यालयले स्कुल क्याप्टेन, भाइस क्याप्टेन, बाल क्लब तथा विभिन्न हाउसका क्याप्टेन र भाइस क्याप्टेन चयनका लागि आज मंगलबार निर्वाचन गराएको हो ।

विद्यालयका प्रधानाध्यापक शिव पुनले विद्यालयमा हरेक वर्ष यस्ता निर्वाचन कार्यक्रम सञ्चालन हुँदै आएको जानकारी दिनुभयो । सामाजिक विषयअन्तर्गत निर्वाचन, मतदान प्रक्रिया, मत सदर र बदर हुने अवस्था तथा लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व छनोट गर्ने विषय विद्यार्थीहरूले किताबमा मात्र पढ्ने नभई व्यवहारिक रूपमा पनि सिक्ने अवसर पाएको उहाँले बताउनुभयो ।
विद्यार्थीहरूले उम्मेदवारी दर्ता, घोषणापत्र सार्वजनिक, मत माग्ने तरिकालगायतका एक साताको सम्पूर्ण प्रक्रिया अभ्यास गरेर मतदानमा सहभागी भएको उहाँले जानकारी दिनुभयो । निर्वाचनबाट विद्यार्थीहरूमा लोकतन्त्रको आधारभूत ज्ञान र नेतृत्व विकासमा सहयोग पुग्ने उहाँको भनाइ छ ।

पछिल्लो समय देशमा सम्पन्न निर्वाचनको प्रभाव तथा विद्यालयमा विगतदेखि हुँदै आएको अभ्यासका कारण विद्यार्थीहरूमा उम्मेदवार बन्ने र नेतृत्व लिनेतर्फ उत्साह बढेको प्रधानाध्यापक पुनले बताउनुभयो । स्कुल क्याप्टेन, स्कुल भाइस क्याप्टेन, चार वटा हाउसका क्याप्टेन र भाइस क्याप्टेन तथा बाल क्लबको अध्यक्ष, उपाध्यक्ष, सचिव र ६ सदस्य पदमा विद्यार्थीहरूको उल्लेख्य प्रतिस्पर्धा देखिएको विद्यालयले जनाएको छ ।
स्कुल क्याप्टेनमा कक्षा १० का सदिक्षा शर्मा र सिद्धान्त पोखरेल प्रतिस्पर्धामा रहनुभएको छ । त्यसैगरी स्कुल भाइस क्याप्टेनमा कक्षा १० का जीवेश ओली र कक्षा ९ का सर्जिना पुन र अनुज बिसी प्रतिस्पर्धामा रहनुभएको छ ।
त्यसैगरी रेड हाउस क्याप्टेनमा कक्षा १० का किसुका न्यौपाने, सुमिना परियार, कक्षा ९ का सुसन गिरी र भूमिका डाँगी प्रतिस्पर्धामा रहनुभएको छ भने भाइस क्याप्टेनका लागि कक्षा ९ का सुमित चौधरी, कक्षा ८ का डेबीत रावल, ग्रिस भण्डारी र किरण भण्डारी प्रतिस्पर्धामा रहनुभएको छ ।

ब्लु हाउस क्याप्टेनमा कक्षा १० का सदिक्षा भण्डारी, कक्षा ९ का प्रिन्सा शाही र कुशल बुढाथोकी, भाइस क्याप्टेनमा कक्षा ९ का जेनिशा चौधरी, तेजस्वी कालाथोकी र कक्षा ८ बीस्मित केसी प्रतिस्पर्धामा रहनुभएको छ ।
ग्रीनहाउस क्याप्टेनमा कक्षा १० का विशेष बुढा र कक्षा ९ का स्तुति खनाल भाइस क्याप्टेन मा कक्षा ९ का यसिता पाण्डे, प्रजिना पोखरे, ह्वाइट हाउस क्याप्टेनमा कक्षा १० का राजन खत्री, कक्षा ९ का जेनिसा भण्डारी, भाइस क्याप्टेनमा कक्षा ९ का दिपेश ओली, सोनिया एमसि र ८ का प्रसना थापा प्रतिस्पर्धामा रहनुभएको छ ।
त्यसैगरी बाल क्लबको अध्यक्षमा कक्षा १० का आयुषा खनाल कक्षा ९ का सुरज थापा प्रतिस्पर्धामा रहनुभएको छ । उपाध्यक्षमा कक्षा ८ का आरीभ रिजाल र कुमार केसी महिला उपाध्यक्षमा कक्षा १० का शिखा थापा र कक्षा ९ का पुष्पा केसी बीच प्रतिस्पर्धा रहेको छ ।

सचिवमा कक्षा १० का सुप्रिम धिताल र कक्षा ९ का अपेक्षा भुसालको उम्मेदवारी रहेको छ । त्यसैगरी सदस्यमा कक्षा १० का आकाश भण्डारी, तारादेव न्यौपाने, सञ्जय एरी, कक्षा ९ का भूमिका सुनार, युवराज खड्का, रिदम यौपाने, देवराज घिमिरे, कक्षा ८ का उमङ्ग भुसाल, रियाज भण्डारी, सुस्मा खड्का र झरना ओलीले सदस्यमा उमेदवारी दिनुभएको छ ।
निर्वाचनमा कक्षा ४ देखि १० सम्मका विद्यार्थी सहभागीता जनाएका थिए । प्रधानाध्यापक पुनका अनुसार ५ सय ७६ जना मतदाता रहेकोमा ५ सय ४८ मत अर्थात् ९५ दशमलव १४ प्रतिशत खसेको छ ।

हाल विद्यालयमा कक्षा १ देखि १२ सम्म करिब १ हजार ५ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा प्लस टु मा व्यवस्थापन संकायतर्फ कम्प्युटर साइन्स, होटेल म्यानेज्मेन्ट, म्याथम्याटिक्स, फाइनान्स लगाएतका विषयहरुको पढाइ हुने गरेको छ ।
















