२०८२ माघ ८ गते बिहिवार

दाङमा ३८ जना फरार प्रतिवादी पक्राउ


दाङ । दाङमा विभिन्न मुद्दामा अदालतबाट फैसला भई फरार रहेका प्रतिवादी पक्राउ परेका छन् । नौ दिनको अवधिमा ३८ जना फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको दाङ प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका प्रहरी टोलीले पुस २० गतेदेखि २९ गतेसम्म खोजतलास अभियान सञ्चालन गरी उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेका सबै प्रतिवादीलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत दाङमा पठाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो ।

डिएसपी शाहका अनुसार पक्राउ परेका प्रतिवादीहरूबाट कुल १२ लाख ६० हजार ६ सय ९० रुपैयाँ जरिवाना गरिएको छ । उनिहरुलाई ३४ वर्ष ९ महिना ७ दिन जन्म कैद सजाय तोकिएको उहाँले जानकारी दिनुभयो ।

अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन आगामी दिनमा पनि फरार प्रतिवादी खोजतलास अभियानलाई निरन्तरता दिने प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस