२०८२ माघ २५ गते आइतवार

सगरमाथा स्कुलमा स्पोर्ट मिट शुरु

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–९, बेलुवामा अवस्थित सगरमाथा स्कुलमा स्पोर्ट मिट शुरु भएको छ । विद्यार्थीहरूको शारीरिक सुदृढता, मानसिक विकास तथा अनुशासन प्रवद्र्धन गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको हो ।

विद्यालयका प्रधानाध्यापक छविकुमार ओलीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष घनश्याम ढकालको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि घनश्याम ढकालले खेलकुद अनुशासन, नेतृत्व र प्रतिस्पर्धात्मक भावनाको विद्यालयस्तरमै विकास गरिनु अत्यन्त आवश्यक रहेको बताउनुभयो ।

‘खेलकुद केवल जित–हारको विषय मात्र होइन, यो जीवनलाई संघर्ष गर्न सिकाउने महत्वपूर्ण माध्यम हो।’ उहाँले भन्नुभयो–‘विद्यार्थी जीवनमै खेल भावना विकास हुन सके भविष्यमा सक्षम, आत्मविश्वासी र अनुशासित नागरिक तयार हुन्छन् ।’

प्रधानाध्यापक छविकुमार ओलीले विद्यालय शिक्षासँगै खेलकुदलाई समान प्राथमिकता दिइएको स्पष्ट पार्दै सगरमाथा स्कुल विद्यार्थीहरूको सर्वाङ्गीण विकासप्रति सदैव प्रतिबद्ध रहेको बताउनुभयो ।

‘पढाइसँगै खेलकुद अनिवार्य छ । स्वस्थ शरीरमा नै स्वस्थ मस्तिष्क बस्छ भन्ने मान्यतालाई आत्मसात् गर्दै विद्यालयले नियमित रूपमा यस्ता कार्यक्रम आयोजना गर्दै आएको छ।’ उहाँले भन्नुभयो–‘स्पोर्ट मिटले विद्यार्थीहरूमा आत्मविश्वास, सहकार्य र अनुशासनको विकास गराउनेछ ।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यमकान्त खरेलले विद्यार्थीको शारीरिक तथा मानसिक विकासका लागि खेलकुद प्रतियोगिता संचालन गरिएको बताउनुभयो ।

कार्यक्रममा विद्यालयका एकाडेमिक हेड तिलक डाँगीले स्वागत मन्तव्य व्यक्त गर्दै खेलकुदले विद्यार्थी जीवनमा सकारात्मक सोच र नेतृत्व क्षमता विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो ।

कार्यक्रमको सहजीकरण कार्यक्रम प्रमुख शरद शर्मा मजगैयाले गर्नुभएको हो । विद्यालयले स्पोर्ट मिट २०८२ अन्तर्गत विभिन्न खेलकुद प्रतियोगिताहरू सञ्चालन हुने जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस