२०८२ फाल्गुन २६ गते मङ्गलवार

दाङमा एक लाख बढी घरधुरीमा धाराको पानी

दाङ । दाङमा एक लाख बढी घरधुरीमा खानेपानीको धारा पुगेको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङका अनुसार दशै वटै पालिकामा १ लाख ९ हजार ५९३ बढी घरधुरीमा पाइप प्रणालीबाट खानेपानीको धारा पुगेको हो ।

राष्ट्रिय जनगणना २०७८ अनुसार दाङमा १ लाख ६२ हजार २६६ घरधुरी रहेको छ । तथ्यांक अनुसार जिल्लामा अझैपनि ५२ हजार ६७३ घरधुरीमा पाइप प्रणालीबाट धारा पुगेको छैन् ।

जिल्लामा अझैपनि ३२ दशमलव ४६ प्रतिशत घरधुरीले कुवा, जरुवा र खोलाको पानी प्रयोग गर्ने गरेका छन् । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङका प्रमुख तिलक न्यौपानले एक घर एक धारा सरकारीको नीति अनुसार जिल्लामा ६७ दशमलव ५४ प्रतिशत घरधुरीमा पाइप प्रणालीबाट धारा पुगेको बताउनुभयो ।

प्रमुख न्यौपानले भौगोलिक विकटता, बजेटको अभाव, स्रोतको कमी लगायतका कारण अझै पनि ५२ हजार बढी घरधुरीमा खानेपानीको धारा पुग्न नसकेको बताउनुभयो ।

जिल्लामा चालु आर्थिक वर्षमा मात्रै थप २ दशमलव ०४ प्रतिशत घरधुरीमा पाइपलाइनबाट धारा पुगको हो । अघिल्लो आर्थिक वर्ष २०८१/२०८२ सम्म जिल्लामा १ लाख ६ हजार २७५ घरमा पाइपलाइनको धारा पुगेकोमा चालु आर्थिक वर्ष २०८२/२०८३ को पुस मसान्तसम्ममा ३ हजार ३ सय १८ थप घरधुरीमा धारा पुगेको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस