दाङ । आगामी फागुनमा २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि बुधबार (२१ माघ) देखि नेपाली सेना परिचालन हुने भएको छ ।
निर्वाचन पूर्वको सुरक्षा योजना अनुसार नेपाली सेना २१ माघदेखि फिल्ड गस्तीमा निस्कन लागेको हो । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले एकीकृत निर्वाचन सुरक्षा योजना २०८२ अनुसार सेना २१ माघदेखि परिचालन हुन लागेको बताउनुभयो ।
निर्वाचन लक्षित गरेर देशभर ७९ हजार ७२७ सेना खटिँदैछन् । उनीहरुले आवश्यकता अनुसार गस्ती पेट्रोलिङ गर्ने बताइएको छ । संवेदनशील क्षेत्र तथा मतदानस्थलहरुको अवस्था हेरेर संयुक्त गस्ती समेत हुने बताइएको छ ।
एकीकृत निर्वाचन सुरक्षा योजना अनुसार अहिले सेना परिचालनदेखि सुरक्षाका अन्य ड्युटीहरु पनि सुरु भएका छन् । निर्वाचनको अवधिमा सेनाले हवाई गस्ती समेत गर्ने भएको छ ।
विकट ठाउँहरु तथा अतिसंवेदनशील क्षेत्रहरुमा सेनाले हवाई गस्ती गर्नेगरी सुरक्षा व्यवस्था मिलाएको छ । आगामी निर्वाचनमा ३ लाख ३८ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुँदैछन् ।


















