दाङ । तुलसीपुर उपमहानगरपालिकामा क्रियाशील खानेपानी संस्थाहरूको संस्थागत विकास र नेतृत्व सुदृढीकरणका लागि क्षमता अभिवृद्धि तथा नेतृत्व विकास तालिम सुरु भएको छ ।
राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालका अध्यक्ष खेमराज वलीको अध्यक्षता एवं तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा तुलसीपुरमा एक विशेष कार्यक्रमका बीच तालिमको उद्घाटन गरिएको हो ।
तुलसीपुर नगर क्षेत्रभित्र रहेका पाँच दर्जनभन्दा बढी खानेपानी संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको उक्त कार्यक्रममा सहभागी नेतृत्वहरूले खानेपानी क्षेत्रमा देखिएका चुनौती र समाधानका उपायबारे चर्चा गर्नुभएको छ ।
तालिममा उपस्थित संस्थाका प्रमुखहरूले बढ्दो सहरीकरणका कारण खानेपानीको माग र आपूर्तिमा देखिएको असन्तुलन, विद्युत् महसुलको भार र मुहान संरक्षणका विषयमा साझा धारणा राख्नुभएको छ ।
त्यस अवसरमा तुलसीपुरका सबै खानेपानी संस्थाहरूलाई एउटै छातामुनि गोलबन्द गर्दै समस्या समाधानमा सामूहिक पैरवी गर्नका लागि ‘तुलसीपुर नगरस्तरिय तदर्थ समिति’ समेत गठन गरिएको छ ।
भेलाले दशरथ वलीको अध्यक्षतामा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ तुलसीपुर नगरस्तरीय समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा अमर खड्का, सचिवमा राकेश बस्नेत, कोषाध्यक्ष सुशीला न्यौपाने चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा तिलक केसी, शुष्मा अधिकारी, बिक्रम चौधरी, दोर्णबहादुर खत्री, चेतबहादुर जिसी, मेनका रेग्मी, कविराज वली, मुक्तबहादुर वली र लोकबहादुर वली चयन हुनुभएको छ । सल्लाहकारमा यमलाल पार्धे, नेवबहादुर डिसी र मिनुका पन्थी रहनुभएको छ ।
समितिले नगरभित्रका खानेपानी आयोजनाहरूको हकहित र आपसी समन्वयमा महत्वपूर्ण भूमिका खेल्ने महासंघका अध्यक्ष वलीले बताउनुभयो ।


















