२०८३ जेष्ठ २० गते बुधवार

आज विश्व रेडियो दिवस विविध कार्यक्रम गरी मनाइँदै

दाङ, १ फागुन । आज १५ औं विश्व रेडियो दिवस विश्वभर विविध चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को अगुवाइमा सन् २०१२ देखि यो दिवस मनाउन शुरू भएको हो ।

सन् १९४६ मा राष्ट्रसङ्घीय रेडियो सेवा स्थापना भएको दिनको स्मरणमा यो दिवस मनाउने गरिन्छ । युनेस्कोका अनुसार सञ्चार माध्यमका रूपमा रेडियोको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्नुका साथै निर्णयकर्ताहरूलाई सूचनामा पहुँच सुनिश्चित गर्नु, रेडियोको उपयोग प्रोत्साहित गर्नु एवम् विश्वभरका प्रसारकहरूबीच अन्तर्राष्ट्रिय सहकार्य सुदृढ तुल्याउनु यस दिवसको उद्देश्य हो ।

मानव समाजको विविधतालाई उत्सवका रूपमा मनाउने सशक्त माध्यमका रूपमा रेडियोलाई लिइन्छ । लोकतान्त्रिक संवादका लागि रेडियो महत्त्वपूर्ण मञ्चका रूपमा स्थापित छ । विश्वस्तरमा अझै पनि सबैभन्दा धेरै सुनिने सञ्चार माध्यमका रूपमा रेडियो नै रहेको छ ।

नेपालमा हाल तीन सयभन्दा धेरै सामुदायिक रेडियो छन् । भूकम्प, बाढी पहिरो जस्ता विपत्तिदेखि स्वास्थ्य महामारी, निर्वाचन लगायतका घटना विशेषको समयमा भने स्रोता बढ्ने गरेका छन् ।

विपत्तिका बेला तथा अगम्य ग्रामीण क्षेत्रका सर्वसाधारणको हरपलको साथी बनेको रेडियोले सूचना, मनोरञ्जन र शिक्षा दिएर सामाजिक परिवर्तनमा पनि प्रशंसनीय भूमिका निर्वाह गरेको छ । सकारात्मक संवादलाई बढवा दिन रेडियो उपयोगी मानिएको छ ॥

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस