दाङ । तुलसीपुर नगर जेसिजले आगामी फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा दाङ क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारहरूसँग प्रत्यक्ष संवाद कार्यक्रम आयोजना गर्ने भएको छ ।
मंगलबार बिहान तुलसीपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत जेसिजका अध्यक्ष कमल प्रकाश शर्माले दिउँसो १ बजेदेखि अरनीको मैदानमा प्रत्यक्ष संवाद ‘ककस’ सञ्चालन गरिने जानकारी दिनुभयो ।
उहाँका अनुसार दाङ क्षेत्र नम्बर ३ बाट प्रत्यक्षतर्फ उम्मेदवारी दिएका सबै उम्मेदवारहरूलाई एकै स्थानमा राखेर नागरिकसँग खुला संवाद गराइनेछ । संवादका लागि क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य पदका सबै उम्मेदवारहरूलाई औपचारिक रूपमा आमन्त्रण गरिएको अध्यक्ष शर्माले बताउनुभयो ।
उम्मेदवारहरूले आफ्ना एजेन्डा सार्वजनिक गर्ने, नागरिकका जिज्ञासा तथा प्रश्नहरूको जवाफ दिने र लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिने भएको हो ।
उम्मेदवारलाई जनताप्रति अझ उत्तरदायी बनाउने र नागरिकलाई प्रत्यक्ष रूपमा आफ्ना धारणा राख्ने अवसर प्रदान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको अध्यक्ष शर्माल जानकारी दिनुभयो ।
तुलसीपुर नगर जेसिजले यसअघि पनि विभिन्न निर्वाचनका अवसरमा यस्ता संवादका कार्यक्रम आयोजना गर्दै आएको छ । तुलसीपसुर नगर जेसीजका अध्यक्ष सल्लाहकार मेघराज भुषालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव सुशान्त सापकोटाले गर्नुभएको थियो ।


















