दाङ। राष्ट्रिय समाचार समितिको ६५ औँ स्थापना दिवसमा मंगलबार तुलसीपुरमा ‘निर्वाचन आचार संहितामा संचार’ विषयक अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
रासस तुलसीपुर प्रमुख नारायणी रजौरेको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
प्रमुख जिल्ला अधिकारी अर्यालले मतदातादेखि उमेदवारसम्म सबैले निर्वाचन आचारसंहिता पूर्णपालना गर्नुपर्ने बताउनुभयो । उहाँले निर्वाचन बिरोधि गतिविधि हुन थालेको भन्दै उनिहरुको खोजि र अनुसन्धान शुरु गरिएको बताउनुभयो ।
यस्तै नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले निर्वाचन आचारसंहिता विपरितका गतिविधि गर्ने पत्रकार तथा संचारसंस्थाको गतिविधि नजिकबाट नियालिरहेको बताउनुभयो । उहाँले निर्वाचनपछि सम्बन्धित व्यक्ति तथा संस्थालाई जानकारी समेत गराउने बताउनुभयो ।
मानव अधिकारकर्मी सुशिल बस्नेतले निर्वाचनलाई समावेशी र सहभागितामूलक बनाउनुपर्ने बताउनुभयो । उहाँले जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति र यौनिक तथा अल्पसंख्यक सबैले निर्वाचनमा सहजतापूर्वक भाग लिन पाउने वातावरण निर्माणका लागि सबै पक्षलाई आग्रह गर्नुभयो ।
दाङ क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत चन्द्र बहादुर सिंजालीले निर्वाचन आचारसंहित पालना नगर्ने उमेदवारलाई १ लाख रुपैँयासम्म जरिवाना र उमेदवारी खारेजीसमेत गर्न सकिने बताउनुभयो । कार्यक्रमको सहजीकरण पत्रकार दिपक बोहराले गर्नुभएको हो ।


















